कृष्णनगर नगर प्रहरीद्वारा सडक कब्जा गरि राखिएका सामान तथा खसीबोका नियन्त्रणमा

कृष्णनगर, २६ कार्तिक ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे नगर प्रहरीले सडक कब्जा गरि अवैध रुपमा राखिएका सामान र खसीबोकाहरूलाई नियन्त्रणमा लिएको छ । स्वच्छ र सफा नगर बनाउने अभियानमा लागेकाे पालिकाले सडक अवरोधले दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सडकमा राखिएका सामान र पशुचाैपायालाई नियन्त्रणमा लिएकाे जनाइएको छ ।

कपिलवस्तुकाे जिल्लाकै मुख्य व्यापारिक केन्द्र रहेकाे कृष्णनगरलाई व्यवस्थित बनाउन नगरपालिकाले सक्रियता देखाएको छ । नगरपालिकाले पटक-पटक सूचनामार्फत जानकारी गराउँदै आएको नगरपालिकाले अटेरी गरि बाटाे अवरोध गर्नेलाई कारवाहीकाे प्रक्रिया अघि बढाएको हाे । नगरले सडकमा अवरोध पुर्‍याउने किसिमका संरचना हटाउन अघिल्लो हप्ता पनि सूचना जारी गरेको थियो ।

नगर प्रहरीका अनुसार सडक किनारामा राखिएका संरचना र सामग्रीले आवागमनमा असुविधा पुर्‍याएको र यातायात अवरुद्ध भएको गुनासो बढ्दै गएपछि यो कदम उठाइएको हो । सर्वसाधारणको आवतजावतलाई सहज बनाउन नगरपालिकाले तत्कालै सडक कब्जा गरेर बनाइएका संरचना र बाटोमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ।

कृष्णनगर नगरपालिका प्रशासनले नगरको स्वच्छता, सुरक्षित यातायात र व्यवस्थित रुपमा कायम राख्न सबैसँग सहकार्य गर्न अपिल गरेको छ । नगरपालिकाका मेयर रजत प्रताप शाहले भने, “नगरको सुन्दरता र शान्ति कायम राख्न नगरबासीको सहयोग आवश्यक छ। नगरपालिकाले यस कार्यमा थप निरन्तरता दिनुपर्छ ।”

नगरपालिकाले यस्ता अवैध संरचना हटाउन सक्दो प्रयास गर्दै आएको बताउँदै स्थानीयलाई यातायात र शहरको व्यवस्थापनलाई ध्यानमा राख्न आग्रह गरेको छ।

TOP