हेटौँडा उपमहानगरलाई हस्तान्तरणसँगै खुला भयो चुरियामाई सुरुङमार्ग

हेटौँडा : बागमती सरकारले हेटौँडा उपमहानगरपालिका-१५ स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग जीर्णोद्धारपछि हेटौँडा उपमहानगरलाई हस्तान्तरण गरेको छ। उपमहानगरलाई सोमवार हस्तान्तरणसँगै सुरुङमार्ग सर्वसाधारणका लागि खोलिएको छ।

बागमती सरकारको यातायात पूर्वाधार निर्देशनालयले जीर्णोद्धार गरेको चुरियामाई सुरुङमार्ग सोमवार चुरियामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा निर्देशनालयले उपमहानगरलाई हस्तान्तरण गरेको हो।

हेटौँडा हुँदै तराईसँग काठमाडौँलाई जोड्ने गरी चुरेमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङमार्गको जीर्णोद्धारपछि हेटौँडा उपमहानगरले सुरक्षा र संरक्षणको जिम्मेवारी पाएको छ।

राज्यको उपेक्षामा परेर मर्मतसम्भार नगरिँदा पुरिएर अवरुद्ध बनेको सुरुङमार्ग बागमती सरकारले मूल्य अभिवृद्धि करसहित ३ करोड ६५ लाख ८२ हजार ४१५ रुपैयाँको लागतमा जीर्णोद्धार गरेको हो।

सो अवसरमा निर्देशनालय र उपमहानगरबीच पुनर्निर्मित चुरियामाई सुरुङमार्गको हस्तान्तरणसँगै सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी साँचो उपमहानगरलाई हस्तान्तरण गरिएको थियो।

मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङमार्ग भएर विगतमा जिप, कारलगायत साना सवारीसाधन आवतजावत हुने गरेको थियो।

चुरे पर्वत छेडेर एक शताब्दीभन्दा अघि निर्माण गरिएको उक्त सुरुङमार्ग नियमित मर्मतसम्भारको अभावमा सुरुङमार्गको मध्य भाग पुरिएर वारपार गर्न नसक्ने अवस्थामा थियो।

चुरे पर्वत शृङ्खलामा कालोपत्रे सडक निर्माणसँगै उक्त सुरुङमार्ग प्रयोगमा आउन छाडेको थियो। पहिले ५ सय मिटर लामो रहेको सुरुङमार्ग हाल २२५ मिटरमात्र बाँकी छ।

नेपालको पहिलो सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा विसं १९७४ सालमा निर्माण गरिएको चुरियामाई सुरुङमार्ग बनाउन २ वर्ष लागेको थियो।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, प्रदेशसभाका सदस्य भारती पाठक, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ, पूर्वमन्त्री रामेश्वर फुयाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललगायत उपस्थित थिए।

TOP