चिकित्सक र नर्सको तलब बढाउँछु : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५औँ स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एकैपटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको बताए।

चिकित्सक र नर्सहरुको पारिश्रमीक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्नेगरी सरकार अघि बढिरहेको बताए। श्रम ऐनले तोकेको पारिश्रमिक कम्तीमा उपलब्ध गराउनैपर्ने व्यवस्था कडाईका साथ लागू गर्नेगरी सरकार अघि बढिरहेको बताए।

चिकित्सकहरूको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास व्यक्त गरे। चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानुनी प्रबन्धहरु अघि बढाइरहेको बताए।

उनले भने, ‘हाम्रो करेन्सी भ्याल्यु अरुको भन्दा कम भएको कारणले पारिश्रमीक पनि हाम्रो भन्दा कयौँ गुणा बढी अन्यत्र प्राप्त हुने स्थिति छ। सुशासनको, रिकग्निशनको पक्षबाट सुखी जीवन बिताउने सन्दर्भबाट तुलना गर्ने हो भने बाहिर नै राम्रो छ भनेर सजिलै भन्न सकिन्छ। तर यो मेरो देश हो, म यहीँ जन्मिएको हुँ। आफ्ना लागि परिवारका लागि सँगै समाज र देशका लागि पनि कर्तव्य हुन्छ। मैले योगदान दिनुपर्ने हुन्छ। त्यसअर्थ कैयौँ कुरा कम्परमाइज गरेर म यहाँ बस्न सक्नुपर्छ भन्ने सोच चिकित्सकहरुले राखिदिन जरुरी छ। चिकित्सकले दबाबमा काम गर्न सक्दैनन्। उसलाई काम गर्ने वातावरण पूर्ण रुपमा निर्माण हुन सकेको छैन, त्यो हामी स्वीकार गर्छौं।’

मन्त्री पौडेलले नेपाली चिकित्सा शिक्षा विश्वमै विश्वसनीय बनेको बताए। चिकित्सकहरु उत्पादन हुने क्रम विगतको तुलनामा बढिरहेको दाबी गरे। नेपालको स्वास्थ्य क्षेत्रमा विगतको तुलनामा थुप्रै सुधार भएको बताए। आवश्यक चिकित्सक उत्पादन भए पनि नेपालभित्रै जनशक्ति सक्रिय नरहनु ठूलो चनौती भएको बताए। चिकित्सकहरुलाई नेपालमै बस्ने स्थिति कसरी निर्माण गर्ने भन्ने बारेमा गम्भीर बन्न जरुरी रहेको बताए।

थाहा खबर

TOP