‘कुलिङ पिरियड’मा चलखेल विश्वासघात र संसद्‌‌माथि प्रहार हो : माओवादी केन्द्र

काठमाडौँ : माओवादी केन्द्रले ‘कुलिङ पिरियड’मा चलखेल गरिनु विश्वासघात भएको बताएको छ।

‘कुलिङ पिरियड’ सम्बन्धीको सहमति सदनमा प्रस्तुत र पारित हुँदा फरक पारिएकोमा माओवादी केन्द्रले यस्तो धारणा राखेको छ।

संघीय निजामती सेवा विधेयकमा ‘सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्‍याइयो’ ? परस्पर विरोधी प्रावधान कसले थप्यो ? यस्ता अनेक गम्भीर प्रश्न माकेले उठाएको छ।

‘यो जालसाजीपूर्ण घटनाले सिंगो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ’‚ बुधवार केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले भने‚ ‘यो गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न हो। यसले सार्वभौम संसद्‌को आत्मामाथि सिधै प्रहार गरेको छ।’

संसद्‌माथिको धोका, मानमर्दन र अपमान भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पुऱ्याएको छ। सुशासनका लागि कोसेढुङ्गा सावित हुने जनताको अपेक्षा विपरीत गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाजीले संसदीय मूल्य-मान्यतालाई ठाडो चुनौतीसमेत दिएको सापकोटाले बताएका छन्।

माओवादी केन्द्रले विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले गरेको दुस्साहस नभएको दावी गरेको छ। पार्टीले यो सुनियोजित तरिकाले गरिएको धृष्टता भएको आरोप लगाएको छ।

‘यसको जिम्मा नैतिक संसद्को नेतृत्व समेतले लिनुपर्छ। यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्छ’‚ माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। थाहा खबर

TOP