प्रचण्ड–जनार्दन टकरावबारे वर्षमान : आएका विषयमा पार्टीभित्र छलफल गर्छाैँ, पार्टी फुट्दैन

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कुनै हालतमा पार्टी नफुट्ने दाबी गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच चलेको अन्तरसंघर्षले पार्टी विभाजन नहुने जिकिर गरेका हुन्।

जारी स्थायी कमिटी बैठकस्थल पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘आएको विषयहरू पार्टीभित्र छलफल गर्छौँ, मिडिया र अरू मान्छेले हल्ला गरेको कुरालाई हामी पूरा हुन दिँदैनौँ। पार्टी फुट्दैन।’

उपमहासचिव पुनले आफ्नो कुरा राखेको र बोलेको भरमा कसैलाई पार्टीले कारबाही नगर्ने बताए। पार्टीभित्र भएको गुटलाई अन्त्य गरेर जाने भन्दै आफ्नो गुट नभएको जिकिर पनि गरे।

अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी एकताबद्ध भएर जाने बैठकले निष्कर्ष निकाल्ने जिकिर नेता पुनकाे छ।

बरु मा‌ओवादी विचार मिल्ने अन्य दलहरूसँग एकता गर्ने पक्षमा रहेकाे पुनले बताए। अहिले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता वार्ता भइरहेको उनले बताए।

‘एकताका लागि हामीले एकीकृत समाजवादी, नेकपा विप्लवसँग पनि कुराकानी गरिरहेका छौँ। हामी धेरै हल्लाखल्ला नगरी छलफल अघि बढाइरहेका छौँ’, उनले भने, ‘असमझदारीलाई छलफलबाट टुंग्याउँछौं।’ थाहा खबर

TOP