गुल्मीको रेसुंगामा जीपलाइन र स्काइ साइकिलिङ निर्माण सुरु

गुल्मी

गुल्मीको रेसुंगामा जीपलाइन र स्काइ साइकिलिङ निर्माण सुरु भएको छ । पर्यटकीय र ऐतिहासिक धार्मिक स्थल रेसुंगाको गर्जुरा क्षेत्रमा साहसिक पर्यटनका लागि उक्त संरचना निर्माण सुरु भएको हो ।

रेसुंगाको गर्जुरा क्षेत्रमा सम्झौता अनुसार खनाल एन्फ्रा प्रालिले १ करोड २५ लाख लागतमा जीपलाइन र स्काइ साइकिलिङ बनाउन लागेको रेसुङ्गा नगरपालिका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए ।

जीपलाइन ४ सय २५ मिटर लामो र स्काइ साइकिलिङ १ सय ८० मिटर लामो बन्ने उनले बताए । संरचना आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न हुनेछन् । संरचना निर्माण हुने क्षेत्रमा रेसुंगा पार्क रहेकाले पनि थप पर्यटकीय चहलपहल हुने अपेक्षा गरिएको छ ।

रेसुंगा क्षेत्रलाई पर्यटकीय माध्यमबाट विकास गर्न थप साहसिक पर्यटनका संरचना निर्माण गर्न लागेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।

पछिल्ला वर्षमा ‘जाउँ हिँड रेसुङ्गा’ ले पर्यटकको संख्यामा वृद्धि गरिरहेको र आगामी दिनमा साहसिक पर्यटक समेत बढाउने नगर प्रमुख पन्थीले बताए । वैखरी

TOP