दिपेन्द्रनगर चौवाबाट रसुवा बाढीपीडितलाई २८ हजार ९ सय रुपैयाँ ९० सहयोग

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, भदौ ।

रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कपिलवस्तुको विजयनगर गाउँपालिका-३ दिपेन्द्रनगर चौवाका स्थानीयले आर्थिक सहयोग गरेका छन् । स्थानीयले घरघरबाट रकम संकलन गरी २८ हजार ९ सय ९० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीयले स्वेच्छिक रूपमा रकम संकलन गरेका हुन् । स्थानीय बाबिता विश्वकर्माका अनुसार अभियानमा दिपेन्द्रनगर चौवाका ५७ जना स्थानीयले सहयोग गरेका छन् ।

स्थानीय स्तरमा संकलन गरिएको रकम सम्बन्धित कोषमा जम्मा गरी विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा प्रयोग होस् भन्ने अपेक्षासहित सहयोग गरिएको बाबिताले बताइन् । उनका अनुसार विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएकाले स्थानीयलाई सहयोगका लागि आग्रह गरिएको थियो ।

रकम संकलन अभियानमा स्थानीयको उत्साहजनक सहभागिता रहेको बताइएको छ । आर्थिक अवस्था अनुसार स्थानीयले आफ्नो क्षमताअनुसार रकम उपलब्ध गराएका थिए । धेरै व्यक्तिले थोरै-थोरै रकम सहयोग गर्दा पनि उल्लेख्य रकम संकलन भएको स्थानीय दाताहरुकाे भनाई छ ।

रसुवामा आएको बाढीबाट जनधनको क्षति भएपछि देशका विभिन्न स्थानबाट राहत तथा सहयोग जुटाउने क्रम चलिरहेको छ । यही क्रममा विजयनगर-३ का स्थानीयले पनि विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो तर्फबाट सहयोग गरेका हुन् ।

स्थानीयले गरेको यो सहयोगले विपद्का बेला सामाजिक एकता र मानवीय सहयोगको भावना बलियो बनाउने विश्वास गरिएको छ ।

 

 

TOP