एक हजार रुपैयाँ कर संकलन गर्न ३ रुपैयाँ ६२ पैसा खर्च

काठमाडौं । सरकारले आन्तरिक राजस्व संकलन गर्न प्रतिहजार रुपैयाँका लागि साढे तीन रुपैयाँ खर्च गर्ने गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार आन्तरिक राजस्वतर्फ एक हजार रुपैयाँ संकलन गर्दा रु. ३.६३ पैसा लाग्ने गरेको हो ।

सरकारले विभागमार्फत गत आर्थिक वर्ष २०७६/७७ मा कुल ३ खर्ब ८४ अर्ब ५३ करोड राजस्व संकलन गरेको छ । यस आवमा विभाग तथा मातहतको चालु र पूँजीगत खर्च भने १ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ रहेको छ । यस अनुसार विभागले एक हजार रुपैयाँ राजस्व संकलनका लागि कुल ३ रुपैयाँ ६२ पैसा खर्च गरेको देखिएको छ ।

त्यसो त राजस्व संकलन लागत अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा भने केही सुधार भएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सरकारले ३ खर्ब ५८ अर्ब ३५ करोड आन्तरिक राजस्व संकलन गरेको थियो ।

त्यसक्रममा आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खर्च गरेका थिए । यसअनुसार प्रतिहजार रुपैयाँ संकलनका लागि ४.२१ रुपैयाँ खर्च भएको थियो ।

यस्तो छ प्रतिहजार राजस्व संकलन लागत

विषयआव २०७५/७६आव २०७६/७७
कुल राजस्व संकलनरू. ३५८ अर्ब ३५ करोडरू. ३८४ अर्ब ५३ करोड
विभाग तथा कार्यालयबाट भएको कुल खर्च१ अर्ब ५० करोड ९६ लाख१ अर्ब ३९ करोड ३४ लाख
प्रतिहजार संकलन लागतरू. ४.२१ पैसारू. ३.६२ पैसा

स्रोत: आन्तरिक राजस्व विभाग

किन घट्यो संकलन लागत ?

आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक राजस्व विभागका लागि चालुतर्फ कुल ६३ करोड ६७ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । तर, आर्थिक वर्षको अन्त्यसम्म विभागले मात्र १५ करोड ८६ लाख ८ हजार अर्थातः लक्ष्यको २४.९२ प्रतिशत मात्र प्रगति प्राप्त गर्न सफल भयो ।

पूँजीगततर्फ विभागलाई १७ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । खर्च भने मात्र ५ करोड २८ लाख ८८ हजार अर्थातः लक्ष्यको मात्र २९.७३ प्रतिशत भएको छ ।

यता विभाग मातहतका आन्तरिक राजस्व कार्यालयका लागि उक्त आवमा चालुतर्फ कुल १ अर्ब २८ करोड ६३ हजार रुपैयाँ विनियोजन भएको थियो । तर, वर्षको अन्त्यसम्म मात्र १ अर्ब २ करोड ३५ लाख अर्थातः लक्ष्यको ७९.६३ प्रतिशत मात्र खर्च  भएको छ ।

आन्तरिक राजस्व कार्यालयहरुलाई पूँजीगततर्फ ३८ करोड ६६ लाख ७३ हजार रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये मात्र १५ करोड ८४ लाख ९ हजार रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ४०.९७ प्रतिशत हो ।

यसप्रकार कुल लक्ष्यको तुलनामा विभाग र मातहतका कार्यालयबाट बजेट खर्च औसतः ५० प्रतिशत हाराहारी मात्र भएको छ । जसले गर्दा राजस्व संकलन लागत घटेको देखिएको हो ।

पूँजिगततर्फको ठूलो रकम खर्च गर्ने समयमा कोरोना भाइरसको संक्रमण र यसले बजारमा अवरोध सिर्जना गरेको थियो ।

चालुतर्फसमेत सरकारले आर्थिक वर्षको अन्त्यमा सभा सम्मेलन, कार्यक्रम, फर्निचर, मेसिनरी सामानको खरीदमा कडाई गरेका कारण बजेट खर्च प्रभावित भएको थियो ।

 संकलन लक्ष्यको ७६ प्रतिशत मात्र

त्यसो त आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक राजस्व संकलन लक्ष्यको ७५.९७ प्रतिशत मात्र संकलन भएको थियो । अघिल्लो आवमा सरकारले आन्तरिक राजस्व विभागलाई ५ खर्ब ६ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।

असुली भने उक्त आवमा ३ खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ मात्र हुन पुग्यो । कुल आन्तरिक राजस्व संकलन आर्थिक वर्ष २०७५/७६ को तुलनामा भने ७ प्रतिशतले वृद्धि भएको थियो ।

कोभिड १९ का कारण पूर्णरुपमा देशव्यापी बन्दाबन्दी लागेको र यसले आर्थिक क्रियाकलापमा सुस्तता आएका कारण लक्ष्यअनुसार राजस्व संकलनको काम प्रभावित भएको विभागले जनाएको छ ।

TOP