घरबाट निस्कने फोहोरबाट मल उत्पादनको तयारी

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घरबाट निस्कने फोहोरमैलाबाट मल बनाउने तयारी गरेको छ ।

दिक्तेल बजारका घरबाट निस्कने कुहिने फोहोरमैलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल प्लान्टमा लगेर मलमा रुपान्तरण गर्ने तयारी गरेको हो । घरबाट निस्कने सागसब्जी, घाँसपात, फलफुल, खानेकुरा, कसिंगर जस्ता कुहिने फोहोरमैलालाई अलग-अलग राखिनेछ । त्यसरी छुट्याएर राखेको फोहोरलाई प्रत्येक आइतबार र बिहिबार ढुवानी गरेर कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्थाको तयारी पूरा भएको नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो ।

सोल्मामा करोडौंको लगानीमा कम्पोष्ट मल प्लान्ट निर्माण सम्पन्न भएको केही समयपछि नगरपालिकाले फोहोरमैलालाई स्राेतबाटै वर्गीकरण गर्ने र कुहिने खालका फोहोरलाई कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्था गरेको हो । घरबाट सकेसम्म फोहोरमैला कम निकाल्ने र निस्किएका फोहोरलाई कुहिने, नकुहिने र शिशाजन्य फोहोरमा वर्गीकरण गरेर घरैमा राख्ने, बजारबाट निस्केको दिशाजन्य फोहोरलाई सोल्माकै वायोग्याँस प्लान्टमा लैजाने निर्णय गरिएको मेयर रिजालले बताउनुभयो । 

यस्तै, बजारमा राखिएका डस्टबिनमा पैदलयात्रीबाट निस्केको फोहोर मात्र राख्ने, नगरपालिकाले फोहोरमैला तथा सरसफाई सम्बन्धि आवश्यक नीति–नियम बनाउने र कार्यान्वयन गर्ने, टोल विकास समितिले फोहोरमैला तथा सरसफाई व्यवस्थापन सम्बन्धी जनचेतना जगाउने, सबैले सरसफाई तथा फोहोरमैला व्यवस्थापनलाई एजेण्डाकै रूपमा प्रस्तुत गर्ने लगायतका निर्णय भएको नगरपालिकाले जनाएको छ ।

दिक्तेलबजारका नकुहिने फोहोरमैलालाई भने नगरपालिकाले संकलन गरेर डम्पिङ साइटमा लगेर थन्काउँदै आएको छ । 
 

TOP