शीतल निवासमा झण्डै ६ घण्टासम्म सचिव कुरेर बसेका सांसद प्रचण्डको निर्देशनपछि फिर्ता

काठमाण्डाै – राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई कुरेर झण्डै ६ घण्टासम्म बसेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरू निवेदन दर्ता नगरि फिर्ता भएका छन् ।

नेकपाका दुई अध्यक्षबीच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनको माग नगर्ने सहमति भएपछि नेता भीम रावल, पम्फा भुसालसहितका नेताहरू शीतल निवासबाट फर्किएका हुन् । 

उनीहरू नेकपाका ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन बोकेर दिउँसो १२ बजेर ४८ मिनेटदेखि शितल निवासमा सचिव कुरेर बसिरहेका थिए । आफूहरू शीतल निवासमा सचिव कुरेर पाँच घण्टासम्म बसेको तर कार्यकारी अध्यक्ष प्रचण्डले निवेदन दर्ता नगर्न भन्नु भएपछि आफूहरू निवेदन दर्ता नगरि फिर्ता भएको नेता पम्फा भुसालले उज्यालोलाई जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले निवेदन दर्ता नगरिकन शीतल निवासबाट फिर्ता नहुने भनेका थियौँ, कमरेड प्रचण्डले सहमति भयो भनेर भन्नुभयो, उहाँले फिर्ता हुन आग्रह गर्नुभयो । त्यसपछि हामी दर्ता नगरि फिर्ता हुँदै छौँ ।’ 

त्यस्तै नेता रावलले भने सचिवले निवेदन दर्ता गर्छु भन्दै झुलाएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे,  ‘हामी ६ घण्टासम्म कुरेर बस्याैँ, सचिवले दर्ता गर्ने आश्वासन दिए पनि बेपत्ता भए, त्यसपछि अध्यक्ष प्रचण्डकाे निर्देशन आयाे र हामी फिर्ता भयाैँ ।’

राष्ट्रपति भण्डारीले अध्यादेश ल्याएसँगै सांसदहरूको हस्ताक्षर बोकेर विशेष अधिवेशन बोलाउन माग गर्दै नेताहरू शीतल निवास पुगेका हुन् ।

TOP