ढल्केबर सब–स्टेशनको क्षमता बढ्यो, भारतबाट थप १ सय मेगावाट बिजुली ल्याउन सकिने

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले धनुषाको ढल्केबर सब–स्टेशनको क्षमता बढाएको छ । देशकै सबैभन्दा ठूलो सब–स्टेशन ढल्केबरमा ३ सय १५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर थप गरिएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । थपिएको ट्रान्सफर्मर आइतबार (हिजो) राति १२ बजे चार्ज गरिएको उहाँले बताउनुभयो ।

ढल्केबर सब–स्टेशनमा रहेका दुई वटा ट्रान्सफर्मरको क्षमता ३ सय २० एमभीए रहेकोमा अब सब–स्टेशनको क्षमता ६ सय ३५ एमभीए पुगेको छ । ग्रिड सब–स्टेशन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३ सय १५ एमभीएका दुई वटा ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरिएको हो । बाँकी एउटा ट्रान्सफर्मरको जडान भइरहेको छ ।

‘३ सय १५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप झण्डै एक सय मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ भने ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिक रुपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको छ’, शाक्यले भन्नुभयो ।

प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायु कुमार श्रेष्ठकाअनुसार अब आवश्यक परेमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप झण्डै एक सय मेगावाट विद्युत् आयात गर्न सकिने छ ।

‘अहिले हाम्रो संरचनाले नधान्ने हुँदा त्यहाँबाट झण्डै २ सय ७० देखि २ सय ८० मेगावाट विद्युत् आयात भइरहेको थियो, भारतीय पक्षले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत थप एक सय मेगावाट विद्युत् दिन सकिने बताएको छ, अब ३ सय १५ एमभीएको ट्रान्सफर्मर चार्ज भएकाले आवश्यक परेमा थप विद्युत् ल्याउन सकिन्छ’, श्रेष्ठले भन्नुभयो ।

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४ सय केभीमा चार्ज भइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि ४ सय केभी र २ सय २० केभीको संरचना तयार भइनसकेकाले ४ सय केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १ सय ३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारण लाइन १ सय ३२ केभीमा मात्रै सञ्चालनमा छ । खिम्ती–ढल्केबरलाई २ सय २० केभीमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पुर्‍याइने छ ।

TOP