वैज्ञानिक वन व्यवस्थापन पद्धति खारेज हुने : वन मन्त्री आले

बारा । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन पद्धति खारेज हुने बताउनु भएको छ ।बाराको निजगढमा निर्माण गरिन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनको क्रममा सिमरामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले वैज्ञानिक बनको नाममा जथाभाबी वनबाट काठ निकाल्ने काम भइरहेकाले यो पद्धति ठिक नभएको बताउँनुभयो ।वैज्ञानिक वन व्यवस्थापन पद्धति खारेज गरेर चाँडै नै मापदण्ड बनाएर दिगो वन व्यवस्थापन पद्धति लागु गरिने जानकारी दिनुभयो । मन्त्री परिषद्को बैठकले वैज्ञानिक वनको नाममा काटिएको काठ बाहेक सम्पुर्ण काठका प्रक्रियाहरू खुल्ला गरेको जानकारी दिनुभयो ।उहाँले चाडै नै वैज्ञानिक वन व्यवस्थापन नाममा काटिएको काठहरू छानबिन गरी निकास दिने बताउँनुभयो । वन तथा वातावरण मन्त्री आलेले दोस्रो  अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वन मन्त्रालयबाट कुनै अवरोध नहुने बताउनुभएको छ ।अनुगमनका क्रममा टाँगिया बस्ती पुग्नु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले दोस्रो  अन्तर्राष्ट्रिय विमानस्थल देशकै नमुना विमानस्थल बन्न गइरहेको बताउनुभयो ।विमानस्थल निर्माण हुने टाँगिया बस्ती क्षेत्रमा नागरिक विस्थापन हुने भएकाले सबैभन्दा पहिले तिनको उचित व्यवस्थापन गरी विमानस्थल निर्माण अगाडि बढाइने बताउनुभयो । मन्त्री ढकालले विमानस्थल निर्माण भए देशकै मुहार फेरिने र नागरिकले प्रत्यक्ष रोजगारी र सेवा पाउने भएकाले विमानस्थल चाँडै निर्माण गरिने बताउनुभयो ।  विमानस्थल निर्माण हुँदा टाँगिया बस्तीका करिब एक हजार ४७६ घरधुरी विस्थापित हुने बताइएको छ ।

TOP