‘कोरोनाविरुद्धको खोप लगाएपछि सामान्य समस्या देखिन्छन्, तर नआत्तिऔँ’

काठमाण्डाै – नेपालमा कोरोना विरुद्धको खोप लगाएका १० मध्ये एक जनालाई सामान्य असर देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले १० जनामध्ये एक जनामा सामान्य समस्या देखिएको बताउनुभयो ।

खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडो हुने जस्ता समस्या देखिएको उहाँले बताउनुभयो । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपको सामान्य असर देखिएको र असर केही समयमा आफैँ हराएर जाने गरेको बताउनुभयो ।

खोपले काम गर्न थालेपछि सामान्य असर देखिएको र त्यस्तो असर धेरैलाई दुई-तीन घण्टामा निको हुने र केहीलाई एक-दुई दिनमा निको हुने उहाँले बताउनुभयो । अहिलेसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या भने नआएको उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउँदा पछि देखिनसक्ने जटिल समस्याको व्यवस्थापनका लागि हरेक अस्पतालमा आवश्यक टिम तथा औषधिको व्यवस्थापन गरेको जनाएको छ ।

सामान्य असर देखिएपनि खोप सुरक्षित रहेकोले ढुक्क भएर लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको आज चौथो दिन हो । खोप अभियान अन्तर्गत झण्डै ५० हजार जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि लगाउन शुरु गरिएको थियो ।

TOP