रामेछाप जिल्ला अस्पतालका चार आईसीयू बेड प्रयोगविहीन, नागरिकले उपचार पाएनन्

रामेछाप – जिल्ला अस्पताल रामेछापमा रहेका आईसीयू बेड प्रयाेगविहीन हुँदा बिरामीले उपचार पाउन सकेका छैनन् । काेभिड–१९ सङ्क्रमितका गम्भीर बिरामीकाे उपचारमा सहज हाेस् भनेर  जिल्ला अस्पताल रामेछापलाई वाग्मती प्रदेश सरकारले गएको भदौमा दिएका पाँच थान आईसीयू बेडमध्ये एउटा मात्रै प्रयोगमा आएको हाे ।

प्रदेश सरकारले पाँच थान आईसीयू बेड, हाइफ्रोम्यादर क्यानुला र मनिटर एक–एक थान प्राप्त भएकोमा आईसीयू बेड सञ्चालन गर्न थप मनिटरलगायतका उपकरण आवश्यक पर्ने भएकाले अहिले एउटा मात्रै बेड सञ्चालनमा आएकाे अस्पतालका प्रमुख डाक्टर नितेन्द्र कर्णले जानकारी दिनुभयाे । ।  

कोरोना सङ्क्रमणका कारण रामेछापमा पर्याप्त आईसीयू बेड नहुँदा बिरामीहरुलाई काठमाण्डाैका विभिन्न अस्पतालमा रेफर गर्दै आएको जिल्ला अस्पतालले आफूसँग भएकाे बेडसमेत सञ्चालनमा ल्याउन नसकेको हाे । जिल्ला अस्पतालमा प्राप्त आईसीयू बेड सञ्चालनमा ल्याउन मनिटर खरिद प्रक्रियामा भएकाले त्याे प्राप्त भएपछि सबै आईसीयू बेड सञ्चालनमा आउने अस्पतालले जनाएको छ । 

कोरोनाका कारण आईसीयू बेड र अक्सिजन सिलिन्डर नपाएर केही व्यक्तिले मृत्युवरण गरिसक्दा पनि जिल्ला अस्पतालले भने भएको आईसीयू बेड सञ्चालनमा ल्याउन नसकेर चरम लापरबाही गरेको नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले गुनासाे पाेख्नुभयाे ।  

उहाँले भन्नुभयाे, ‘अस्पतालमा आईसीयू बेड छैन भन्दै विभिन्न दातासँग हात पसार्दै हिँड्ने जिल्ला अस्पतालका कर्मचारी र अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले अस्पतालमा भएका बेड सञ्चालनमा ल्याउन नसक्नु ज्यादै दुःखद कुरा हो । अस्पतालले तत्काल आईसीयू बेड सञ्चालनमा ल्याइ कोरोना सङ्क्रमितको उपचार गर्नुपर्छ ।’  

TOP