हवाई उडान नहुँदा मलेसियामा अड्किए ५२ शव
काठमाडौं, असार ३० । सरकारले पर्याप्त अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अडकिएका छन्। ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।
‘मलेसियामा औसत हरेक तीन दिनमा दुईजना हाराहारी निधन हुने गरेको छ,’ त्यहाँस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालले भने, ‘तर पर्याप्त हवाई उडान हुन नसक्दा घरमा पठाउन सकिएको छैन।’ उनले मलेसियामा वाइड बडी जहाजको उडान हुने हो भने शव ढुवानीमा समस्या नहुने भए पनि केही समययता राखिएका उडानमा हवाई कम्पनीहरूले न्यारो बडी जहाज मात्र उडाइरहेको बताए।
‘वाइड बडी जहाजको उडान हुने हो भने एकैचोटि २०–२५ वटा शव ढुवानी गर्न मिल्छ। तर न्यारो बडीको जहाजले दुई(तीनवटाभन्दा बढी शव बोक्दैन,’उनले भने। रोजगारीका लागि मलेसिया पुगेका श्रमिकको उतै निधन भएर पनि शव घर ल्याउन नसक्दा घर, परिवार निकै पीडामा रहने गरेका छन्। वैदेशिक रोजगार ऐनअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको निधन भएमा रोजगारदाताको साथै वैदेशिक रोजगार बोर्डले शवको ढुवानी घरसम्म गर्ने व्यवस्था गर्ने गरेको छ।
रोजगारीको क्रममा गन्तव्य मुलुकमा निधन हुनेको शव जतिसक्दो चाँडो घरसम्म पुर्याउनुपर्ने आवाज उठ्दै आए पनि अनेक कारणले मृतकका आफन्तले समयमै शव प्राप्त गर्न सकेका छैनन्। कहिले रोजगारदाताको ढिलाइ त कहिले आवश्यक कागजपत्र जुटाउन नसक्दा वर्र्षौंदेखि मृतकको शव चाँडोभन्दा चाँडो घरसम्म पुर्याउन सरोकारवाला निकाय असफल हुँदै आएका छन्।
बोर्डले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई सात लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ भने म्यादी जीवन बिमा गरेका श्रमिकका परिवारलाई बिमा कम्पनीले १४ लाख रूपैयाँ दिने गरेका छन्। ढकालले मलेसिया–काठमाडौंका लागि सरकारले पर्याप्त उडान नराख्दा अत्यावश्यक परेर घर फर्कन खोजेकालाई पनि निकै समस्या परेको बताए।
‘अहिले क्वालालम्पुर–काठमाडौं सातामा तीन हवाई उडान राखिएका छन्,’ उनले भने, ‘न्यून उडान संख्या राखिएकाले दुई महिनासम्मको टिकट लगभग प्याक भइसकेको अवस्था छ। ’हालसम्म श्रम स्वीकृति जारी भएको आधारमा नेपालका लागि मलेसिया सबैभन्दा ठूलो गन्तव्य हो। नागरिक दैनिकबाट
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


