अविश्वासको प्रस्ताव फेस गर्छौंः प्रदेश मन्त्री

काठमाडौं, साउन २७ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेश सभामा प्रस्तुत हुने अविश्वासको प्रस्तावको डटेर सामना गरिने बताएका छन् । आज लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गर्न लागेको अविश्वास प्रस्तावमाथिको छलफल बहिष्कार गर्ने कुनै निर्णय नभएको पनि उनको जिकिर छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै मन्त्री श्रेष्ठले भने,
“प्रदेश सभाका ८३ सांसदमध्ये सत्तापक्षमा अहिले पनि ४२ सांसद छन् । जसपाका तीन जना सांसद र सांसद विमला ओलीको मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै प्रदेश प्रमुखले कसरी अविश्वास प्रस्ताव अघि बढाउन सक्नुहुन्छ ? यो अदालतको मानहानि हुन्छ कि हुन् ? यद्यपि हामीले विपक्षी गठबन्धनले बहुमत सिद्ध गरेको अवस्थामा हामीले अन्यथा ठान्ने कुरा छैन । अहिलेसम्म सभाबाट बाहिरिने क्रियाकलाप गर्ने निर्णय भएको छैन । हामी जिम्मेवार र परिपक्व हिसाबले नै अघि बढ्छौं ।”

मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावलाई सहज रुपमा स्वीकार गरेको तर राजीनामा नदिने पनि मन्त्री श्रेष्ठले बताए । उनले भने, “मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावलाई स्वाभाविजक रुपमै लिनुभएको छ । यो संवैधानिक अधिकारको कुरा पनि हो । हामी त्यसलाई फेस गर्छौं । अधिवेशनमा उपस्थित हुन्छौं र आफ्ना कुरा राख्छौं ।” तर विपक्षी गठबन्धनले सांसदलाई बन्धक बनाउने र आफ्नो कुरा राख्न नदिएको आरोप पनि उनले लगाए । विपक्षी गठबन्धनले पनि आफ्नो इमानदारी र नैतिकतालाई ख्याल गर्नुपर्ने उनको भनाइ थियो ।

प्रदेश सरकारले बजेट र नीति तथा कार्यक्रममार्फ जनताको अभिभारा पूरा गरेको, कोभिड संकटमा अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई भरोसाको केन्द्र बनाएको पनि उनले दाबी गरे । उनले भने, “अब बन्ने सरकारले पनि राम्रो कामको निरन्तरता दिनुपर्छ । कुनै किसिमको निराशा र कुण्ठा राख्नुहुन्न । गठबन्धनका नाममा भएका अमर्यादित क्रियाकलाप रोक्नुपर्छ ।”

TOP