भूमिसम्बन्धी समस्या समाधान आयोगमा चार सदस्य थपिए

काठमाडौं : भूमिसम्बन्धी समस्या समाधान आयोगमा चार सदस्य थपिएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको सिफारिसमा एक/एक जना सदस्यहरू थपिएका हुन्।

नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा माओवादी केन्द्रको सिफारिसमा बासुदेव हुमागाईं आयोग सदस्यमा नियुक्त भएका हुन्।

चारै सदस्यलाई आयोग अध्यक्ष केशव निरौलाले सोमबार नै पद तथा गोपनीयताको शपथ खुवाएका छन्।  शपथ खुवाएपछि अध्यक्ष निरौलाले अब तीव्र गतिमा काम अघि बढाउने दाबी गरे।

आयोगको प्राथमिकतामा भूमिहीन दलित परेको समेत उनको भनाइ छ। केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन गरी सरकारले नयाँ आयोग बनाएको थियो। पछि कांग्रेस निकट निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरिएको थियो। आयोगमा अझै दुई सदस्यको पद रिक्त छ। 

TOP