गठबन्धन कायम रहन्छ, हाम्रा मन्त्री छिट्टै फेरिन्छन् : नेपाल

सप्तरी : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धन कायमै रहने बताएका छन्। पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सङ्घीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए।

‘उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ’, उनले भने । उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उनको भनाइ थियो । 

उनले आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने पनि बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको उनको भनाइ छ । 

‘नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनुपर्नेछ त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ, नमान्ने कुरै छैन।’ उनले भने, ‘पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको हो।’

TOP