चिनियाँ कम्युनिस्ट पार्टीकाे उच्चस्तरीय नेपाल भ्रमणका कारण

काठमाडौं :चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख लिउ च्यान्चाओ आफ्नो टोलीसहित नेपाल आइपुगेका छन्। उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग उच्चस्तरीय भेटघाट गरेका छन्।

भेटघाटपछि टोलीले परराष्ट्रमन्त्री खड्काको आयोजनामा होटल मेरियटमा हुने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ। गत जुन महिनामा सीसीपीको विदेश विभाग प्रमुख बनेका लिउको यो पहिलो विदेश भ्रमण हो।

नवनियुक्त विदेश विभाग​ प्रमुख लिउको नेपाल भ्रमणको उद्देश्य चीन-नेपाल सम्बन्ध सुधार नै हो। नेपाली नेताहरूसँग सबैखाले सम्बन्ध सुधार गर्नु नै यो भ्रमणको मुख्य उद्देश्य रहेको छ।

टोली भोलि बिहान साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित वीपी संग्रहालयको अवलोकनमा जाने छ। त्यहाँबाट फर्केपछि टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ।

भोलि अपराह्न ४ बजेदेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग होटल सोल्टीमा भेटघाट राखिएको छ। त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ।

नेपाल भ्रमणको तेस्रो दिन चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुखले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म भेटघाट गर्नेछ।

सोही दिन अपराह्न ४ बजेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणको अन्तिम दिन बुधबार बिहान चिनियाँ पाहुना टोली बिहान ९ बजे बूढानीलकण्ठ नगरपालिका जाने कार्यक्रम छ। त्यहाँ एमाले जिल्ला कमिटी पूर्व अध्यक्ष कृष्ण राईसँग समेत भेटेपछि टोली सोझै शीतलनिवास झरेर बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछ।

दिउँसो पौने ३ बजेदेखि साढे ३ बजेसम्म काठमाडौं नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन नेवाः मुक्ति मोर्चाका सचिव उमेश स्थापितलाई भेटेपछि दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म भूकम्पबाट क्षतिपछि पुनर्निर्माण गरिएका विभिन्न संरचनाको निरीक्षण गर्ने क्रममा चिनियाँ पाहुना टोली भक्तपुर पुग्नेछ।

आगामी बुधबार राति सवा ११ बजे चिनियाँ टोली चार दिनको नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्कने कार्यक्रम छ। धेरैको अनुमानमा चीनले नेपालमा कम्युनिस्ट एकता होस् भन्ने चाहन्छ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा चीनबाट उच्चस्तरीय टोली नै आएर पार्टी एकता कायमै राख्ने प्रयास गरेको थियो। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपाललाई साँझ बिहान भेट्ने गरेकी थिइन् तर चिनियाँ चाहना भने त्यतिवेला सफल हुन सकेन।

अध्यक्षहरू प्रचण्ड र माधव नेपालको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपाल सरकार अमेरिकासँग नजिक देखिएको चीनको बुझाइ छ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‌बाट पारित गरिएको छ भने सैन्य सहकार्य लगायतका विवादित विषय अगाडि बढेका छन्, जसलाई चीनले रुचाइरहेको छैन्।

कम्युनिस्ट पार्टीहरू एकै हुँदासम्म एमसीसी पारित हुन सकेको थिएन। अमेरिकाले पछिल्लो समय एसपीपी अघि नबढ्ने भएपछि स्टाटस अफ फोर्सेस एग्रीमेण्ट (सोफा) मा हस्ताक्षर गर्न लबिङ शुरु गरेको छ।

यसै भ्रमणबाट कम्युनिस्ट एकता सुनिश्चित नभए पनि एकताको सम्भावना अध्ययन गर्ने र पृष्ठभूमि तयार पार्ने काम लिउको भ्रमणले गर्नेछ।

चुनावको मुखमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट भागबण्डाको कुरा नमिल्दा चिनियाँ पक्ष सक्रिय भएर कम्युनिस्ट एकताको सेतु बन्न सक्नेछ।

माओवादी केन्द्र र एमालेका नेताहरूलाई मिलाउन चिनियाँ पक्ष भित्रभित्रै सक्रिय समेत भइरहेको स्रोत बताउँछ। लिउको भ्रमणले त्यसलाई अझ बल पुग्नेछ।

नेपालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा हस्ताक्षर गरिसकेको भए पनि तीव्रताका साथ अगाडि बढ्न सकेको छैन।

नेपाल सरकारको उदासीनताका कारण बीआरआईका गतिविधि अगाडि बढ्न नसकेको चिनियाँ निष्कर्ष छ। बीआरआईका कार्यक्रम र योजनालाई तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारलाई सक्रिय बनाउनु लिउ भ्रमणको अर्को कारण हो।

चीनका छिमेकी दक्षिण एशियाली देशहरूमा अमेरिकाले प्रभाव जमाउन छुट्टै रणनीति बनाएर अगाडि बढिरहेको छ भने चीनले त्यो प्रभावलाई रोक्न खोज्दै छ। 

सरकारीस्तरमा सम्बन्ध सुधारका लागि परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले लिउ भ्रमणको चाँजोपाँजो मिलाइरहेको छ। लिउको भ्रमणपछि परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमण समेत हुनसक्ने स्रोतले जनाएको छ।

TOP