बिजुलीबाट चल्ने मिल गाउँमा पुगेपछि जीर्ण बने पानीघट्ट

बागलुङ : एक दशकअघिसम्म बागलुङको ग्रामीण क्षेत्रमा पानी घट्टको प्रयोग अत्यधिक हुन्थ्यो। गाउँ–गाउँमा पानी तथा बिजुलीबाट सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट लोप हुन थालेको छ।

कुनै वेला पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो मानिन्थ्यो। खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइन्थ्यो। नहर निर्माण गरी खोलाको पानीलाई केही माथिदेखि ठूलो पाइप हुँदै ‘फिर्के’सम्म झर्ने बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्न पिस्थ्यो।

अहिले यो प्रविधि लगभग हराइसकेको छ। अहिले पानीघट्ट जीर्ण अवस्थामा देखिन्छन्। अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा मात्र यसको प्रयोग हुने गरेको छ । 

ताराखोला गाउँपालिका–२ सिले गाउँका बासिन्दा केही वर्षअघिसम्म पानीघट्टमै आटो पिठो पिसेर उपभोग गर्ने गर्थे। गाउँमा २\३ ठाउँमा मिल सञ्चालनमा आएपछि पानीघट्ट प्रयोगविहीन र जीर्ण बनेको छ।मिलको बढ्दो प्रयोग हुन थालेपछि पानी घट्ट प्रयोग हुन छोडेको स्थानीय तमबहादुर घर्तीले बताए।

‘पहिले त पानीघट्ट बाहेक विकल्प थिएन, कि घरमै जाँतोमा पिस्नु पर्थ्यो, कि घण्टौँ लगाएर टाढाको मिलमा जानु पर्थ्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन,’ घर्तीले भने, ‘अहिले त पानीघट्टको प्रयोग कम मात्रा हुन्छ, गाउँमै मिल बने घट्टले भन्दा मिलले छिटो पिस्छ, त्यसैले पहिले चलेका घट्ट अहिले पुरानो भएर भत्किन थाले।’

घट्टको प्रयोग घटेपछि सञ्चालक पनि मर्कामा परेका छन्। घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट १\२ माना उठाउने गर्थे । त्यहीबाट घट्ट सञ्चालकले परिवार चलाउँथे। अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान थालेपछि घट्ट ठप्प भएको सञ्चालक नरबहार घर्तीले बताए। 

‘पहिले सबै गाउँले मेरो घट्टमा  आउँथे। मकै, गहुँ, कोदो पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले खाली भएर पनि कोही आउँदैनन्,’ उनले भने, ‘मान्छे नै आउन छोडेपछि घट्ट जीर्ण बनेको छ, मर्मत सम्भार पनि गरेको छैन,अब पेशा नै परिवर्तन गर्नु पर्ने अवस्था आएको छ।’

घर्तीको जस्तै बागलुङ ग्रामीण क्षेत्रमा घट्ट चलाउनेहरुको व्यथा पनि उस्तै हो । अहिले गाउँका टोल–टोलमा विद्युतीय मिल छन्। त्यसले गर्दा उनीहरू समस्या परेका छन् । पानी र बिजुलीबाट चल्ने मिलको कारण विस्थावित भएका घट्ट सञ्चालक अरु व्यवसाय अँगाल्न थालेका छन्।

TOP