‘एउटा मस्तिष्क मरणबाट ८ जनाकाे ज्यान जाेगाउन सकिन्छ’
काठमाण्डौ – एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ । नेपाल प्रेस इस्न्टिच्युटले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।
उहाँका अनुसार मिर्गौला, फोक्सो, मुटु, कलेजो, प्याङ्क्रियाज र आनो आन्द्रा मस्तिष्क मरणबाट अङ्ग प्रत्योरोपण गर्न सकिन्छ । ‘एक जनाको मस्तिष्क मृत्युको विभिन्न अङ्ग प्रयोग गरेर आठ जनाको ज्यान बचाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘खरानी भएर जाने वा गाडेर सकिने अङ्ग दान गर्दा कसैले पुनर्जीवन पाउन सक्छन् र अङ्ग पनि त्यो व्यक्तिमा गएर बाँचिरहने भयो ।’
नेपालमा जनचेतनाको अभावका आफ्नो मृत्युपछि अङ्ग दान गर्न हिच्किचाइरहेका छन् । जबकि अङ्गदान गर्दा अङ्ग बिग्रेका व्यक्तिले पुनर्जीवन पाउने उहाँको भनाइ छ । केन्द्रले अहिलेसम्म नौ सय जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । हिजो मात्र एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो । मस्तिष्कका मृत्यु व्यक्तिको अङ्गबाट अहिलेसम्म आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।
भर्खरै मात्र नेपाल सरकार मन्त्रिपरिषद्का प्रधानमन्त्री तथा सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यले आफ्नो मृत्युपछि अङ्गदान गर्ने घोषणा गरिसकेका छन् । केन्द्रमा १० जना सर्जन, नौ जना फिजिसियन, प्रत्यारोपण संयोजकसहित तीन जनाको टोली र सात जना एनेस्थेसियोलोजिस्ट लगायतको टोली २४ घण्टा प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेका छन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ्गले मस्तिष्कघातपछि अङ्गदान दिनुपर्ने विषयमा जनचेतना कमी भएको बताउनुभयो । आफूले पनि अङ्गदान गरिसकेको जानकारी दिँदै उहाँले अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्ने बताउनुभयो । ‘मैले पनि मस्तिष्कघातपछि अङ्गदान गर्ने घोषणा गरिसकेको छु । समाजका मानिसलाई अङ्दानसम्बन्धी सचेत गराउनुपर्ने छ । अङ्गदानको महत्त्व धेरै छ’, उहाँले भन्नुभयो ।
मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अङ्गदानबारे जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सात वटै प्रदेशमा मिर्गौला प्रत्यारोपण पुर्याउन तयारी गरिएको बताउनुभयो । वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तले मस्तिष्कको मरणबाट अन्य मानिसको ज्यान बचाउन सकिने बताउनुभयो । उहाँले मस्तिष्क मरण भए पनि अन्य अङ्गको मरण बिस्तारै हुने भएकाले अन्य अङ्गलाई निकालेर अरू मानिसमा प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।
‘मस्तिष्क मरणसँगै हरेक अङ्ग मर्दै जान्छ । एकै पटक मानिस मर्दैन । सबै अङ्ग मरेपछि मस्तिष्क मरण हुन्छ’, उहाँले भन्नुभयो, ‘मस्तिष्क मरण भए पनि अङ्ग बाचेको हुनाले अङ्ग निकालेर अरू बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ ।’ उहाँले अङ्गदानसम्बन्धी जनचेतना जगाउनका लागि धार्मिक अग्रजलाई अघि सार्नुपर्ने बताउनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार कपिल काफ्लेले मूलधारका पत्रिकाले स्वास्थ्यका समाचारलाई प्राथमिकतामा नराखेको बताउनुभयो । उहाँले स्वास्थ्य पत्रकारिताको विषयमा तालिम सञ्चालन गरेर अनुसन्धानमूलक समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार भैरव रिसाल अङ्गदान जस्तो विषयलाई जनचेतना जगाइ सबैलाई अङ्गदान गर्न उत्प्रेरित गर्नुपर्ने बताउनुहुन्छ । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी स्वास्थ्य संवेदनशील कुरा भएकाले खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
वरिष्ठ पत्रकार राजेन्द्र दाहालले ज्येष्ठ नागरिकलाई जिउने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उहाँले सहरभन्दा गाउँघरतिर स्वास्थ्य सेवा पुर्याउन आवश्यक रहेको बताउनुभयो । इन्सिच्युटका महासचिव लक्ष्मण उप्रेतीले आँखा दानमा जस्तै अन्य अङ्गको दान पनि सजिलो बनाउन आवश्यक रहेको बताउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्रमा गरिएको अङ्ग प्रत्यारोपण ९९ दशमलव ९ प्रतिशत सफलता प्राप्त गरिएको बताउनुभयो । उहाँले अङ्गदानका लागि सचेतना फैलाउन सके सबैले अङ्गदान दिनसक्ने बताउनुभयो ।
श्रेष्ठका अनुसार पुरुषभन्दा महिलाले मिर्गौला प्रत्यारोपण बढी गरेका छन् । पुरुषमा ८० प्रतिशत मिर्गौला लिएको र २२ प्रतिशतले दिएको तथा महिलामा २० प्रतिशत मिर्गौला लिएको र ७८ प्रतिशतले दिएको केन्द्रको तथ्याङ्क रहेको छ । उहाँले मिर्गौला बिग्रेको ९० प्रतिशत भएपछि मात्र थाहा पाउने भएकाले वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनसमेत आग्रह गर्नुभयो । उहाँले मिर्गौला डायलासिसभन्दा प्रत्यारोपण गर्दा मानिस स्वच्छ र आर्थिकरूपमा सस्तो पर्ने बताउनुभयो । उहाँका अनुसार दुई वर्षको डायलासिसले एक वटा प्रत्यारोपण गर्न सकिने छ ।
सरकारले मिर्गौला प्रत्यारोपण गर्नका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ । सरकारले प्रतिबिरामी पाँच लाख ५० हजार रुपैयाँ दिने गरेको छ । अहिले नेपालमा ७५ वटा डायलासिस केन्द्र रहेका छन् । नेपालमा बर्सेनि तीन हजार मिर्गौलाका बिरामी थपिने गर्छन् ।
तस्बिर : कपिल काफ्लेकाे फेसबुकबाट
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam