भौतिक रूपमा पनि धनी पोखरा महानगर प्रमुख धनराज, सम्पत्ति कति?

पर्वत : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य नाममा मात्र नभई भौतिक रूपमा पनि धनराज रहेको देखिएको छ। हालै उनले सार्वजनिक गरेको सम्पत्ति विवरणबाट यो तथ्य खुलेको हो।

हालै उनले सार्वजनिक गरेको विवरणमा पाँच तोला हिरा, ५४ तोला सुन, ३८ तोला चाँदी र १५ लाख रुपैयाँ नगद रहेको उल्लेख छ। धनराजकी श्रीमती पुष्पाकुमारी पौडेल आचार्यको नाममा पोखरा महानगरपालिका–९ मा दुई सय ८९ वर्ग मिटर क्षेत्रफल रहेको जग्गामा करिब नौ करोड २५ लाख मूल्यका दुई घर  छन्।

पुष्पाकै नाममा काठमाडौँको सितापाइलामा करिब एक करोड ८५ लाख मूल्य अनुमान गरिएको ९२५ वर्ग फिट क्षेत्रफल रहेको दुई कित्ता जमिन रहेको छ। धनराजको नाममा दुई करोड बराबरका टोयटा न्याभ फोर कार र भ्यान तथा तीन स्कुटर, पोखरा महानगरपालिका–११ मा दुई कित्ता जग्गा र घर, दोलखा जिल्लामा ५८ रोपनी सात आना जग्गा रहेको उल्लेख गरिएको छ। दोलखाको जग्गा ८७ लाख रुपैयाँमा खरिद गरेको विवरणमा उल्लेख छ। 

कास्कीकै मादी गाउँपालिकामा रहेको सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरका प्रमुख सञ्चालक रहेका महानगरप्रमुख आचार्य निर्माणको अन्तिम चरणमा रहेको तमोर जलविद्युत आयोजनामा पनि आबद्ध रहेका छन्। उनले मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा पनि लगानी गरेका छन्। उनले आफ्नो सम्पत्ति ४३ करोड ६१ लाख ४५ हजार छ सय १६ र ऋण दुई करोड ८५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन्।

प्रोभिजनल स्टोर्स, हेलो स्टेसनरी, युनाइटेड पब्लिकेसन हुँदै व्यवसायमा अघि बढेका आचार्यसँग अहिले जलविद्युत, शैक्षिक सामग्री उद्योग, स्कुल कलेज, मल उद्योग, कृषि, पर्यटन, बैङ्किङ, हस्पिटालिटी जस्ता साना ठूला दुई दर्जन व्यावसायिक प्रतिष्ठानको स्वामित्व पनि छ। 

अनेरास्ववियुबाट राजनीतिमा लागेका आचार्य एमाले फुटेपछि तत्कालीन माले र फेरि एमालेमै फर्किएका थिए। पछि माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि उनी पनि त्यतै लागे। पोखराको मेयर पाउनका लागि उनले माधव नेपालमार्फत गठबन्धनमा व्यापक दबाब दिएका थिए। एमालेभित्रैको आन्तरिक द्वन्द्व र गठबन्धनको एकताका कारण उनले पोखरा महानगरपालिकाको प्रमुख बन्ने मौका पाए। 

सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान  छ। सोहीअनुसार आचार्यले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। उनले गत जेठ १२ मा पदभार सम्हालेका थिए।

TOP