देशमा सुशासन छैन भन्दा पनि हुन्छ : शेखर कोइराला

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ । 

आज बिहीवार काठमाण्डाैमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवम् वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कोइरालाले नेपाललाई श्रीलङ्का नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो । 

नेता कोइरालाले भन्नुभयो, ‘हामी राजनीति त गर्छाैँ तर नागरिकसँग धेरै टाढा भइसकेका छौँ । जनतासँग नजोडिकन हामी राजनीति गर्न थाल्यौँ भने जनताले राजनीतिज्ञबाट फाइदा लिन पाउँदैनन् । अहिले हामी अत्यन्त अफ्ठ्यारो परिस्थितिबाट गइरहेका छौँ । देशलाई कसरी जोगाउने भन्नेबारेमा सबैभन्दा पहिला सोचौँ । देश रहेमात्र हामी अघि बढ्ने हो । यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहीँको रहँदैनौँ । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ । श्रीलङ्का नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ । भ्रष्टाचार निर्मूल गर्नुपर्ने जरुरी छ । सुशासन दिन सक्नुपर्छ । यो देशमा सुशान छँदै छैन भने पनि हुन्छ ।’

नेता कोइरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताउनुभयो । अल्छी गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने उहाँकाे भनाइ छ । 

TOP