एसईईको ग्रेडवृद्धि परीक्षा भदाै ११ र १२ गते

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेडवृद्धिका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना हुन नपाउने अर्थात जिरो दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन् ।

बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षाको व्यवस्था गरेको छ । तर त्यो भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । यस्ता विद्यार्थीका लागि परीक्षा बोर्डले भदौको ११ र १२ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा एसईईमा १ दशमलव ६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने छन् । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १ दशमलव ६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ ।

भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १ दशमलव ६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको बोर्डले जनाएको छ । उहाँका अनुसार विज्ञानबाहेक शिक्षा, व्यवस्थापन, मानविकी विषयमा अनिवार्य तथा ऐच्छिक विषयका रूपमा गणित विषय पढ्न चाहनेले पनि एसईईमा ‘सी प्लस ग्रेड’ प्राप्त गरेकै हुनुपर्छ। 

TOP