बालेनको सक्रियता : अवैध संरचना हटाएर पार्किङ खुलाउँदै

काठमाडौं :  बुधबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साह महानगर क्षेत्रको अनुगमनमा निस्किए।

फुटपाथ तथा पार्किङको समस्या रहेको काठमाडौमा अन्डरग्राउन्ड पार्किङ खाली गराउन लागे।  सोमबार काठमाडौंको नयाँ बानेश्वरबाट अन्डरग्राउन्ड पार्किङ खाली गराउने अभियान थालेका बालेनन् बुधबार आधा दर्जनभन्दा बढी पार्किङ खाली गर्नुका साथै अवैध रूपमा बनाएको संरचना हटाए। 

 काठमाडौं उपत्यकामा रहेको  सवारी पार्किङको समस्या समाधान गर्नका लागि सो अभियान चलाइएको मेयर साहको स्वकीय सचिव भूपदेव साहले बताए।

बुधबार  आधा दर्जनभन्दा पाकिङ खाली गर्ने तथा अवैध संरचना हटाइयो। उनले भने,‘काठमाडौं उपत्यकामा रहेका सवारी पार्किङको समस्यम समाधान गर्ने उद्देश्यले अभियान चलाएका हौँ। जसले उपत्यकाको पार्किङको समस्या समाधान गर्न सहयोग गर्नेछ।’   

महानगरले नक्सा पासबिना बनाएको संरचना हटाउन सूचना जारी गरेको थियो। सूचना जारी गरेको ३५ दिने म्याद सकिएसँगै उनी आफैँ अनुगमनमा निस्किएका हुन्।

महानगरको सूचना अटेर गर्दै संरचना नहटाएको भन्दै डोजर प्रयोग गरी विभिन्न स्थानका करिब आधा दर्जन संरचना हटाए।

सुन्धारास्थित काठमाडौं मलले अवैध रूपमा बनाएको संरचनामा डोजर चलाए। नक्सापास बिना निर्माण गरेको सो संरचना हटाए। त्यससँगै  मेयर साह आरबी न्युरोडको कम्प्लेक्समा डोजर लिएर पुगे। सो कम्प्लेक्सले अवैध रुपमा बनाएको संरचना भत्काए।  

त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको थियो। त्यस्तैगरी, न्युरोडको नविल बैंकको शाखा हटाउन निर्देशन दिएको छ।

त्यसलगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ। दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिँदा सडकमा बाक्लो जाम हुने गरेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अनाधिकृत अन्डरग्राउण्ड पार्किङ संरचना हटाउने अभियान जारी रहने बताएका छन्।

यता, व्यापारीले भने डोजर चलाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। व्यापारीसँग कुरा गर्दै मेयर बालेनले महानगरले कुनै गल्ती नगरेको बताएका छन्। अवैध संरचनालाई भाडामा लगाउने घरबेटीले व्यापारीको क्षतिपूर्ति तिर्नुपर्ने बताएका थिए।

अवैध संरचना हटाएरै छाड्छु : बालेन 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबैखाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन्। बुधबार काठमाडौंको न्युरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए।
 

अवैध संरचनामा डोजार नचलाउन अनुरोध गर्दै आएकाहरूलाई उनले भने, ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ।’ उनले थपे, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ।’

बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन। जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारीसाधन पार्किङ गरिरहेका छन्।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले अदालतको भुइँ तल्लामा दसीका रुपमा आएका सवारी साधनहरु रहेको  जानकारी दिए। महानगरबाट अनुगमनका लागि दुई जना कर्मचारी समेत आएको बताए।

TOP