जनताको क्रयशक्ति बढाउन आवश्यक छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक रहेको बताएकी छन्।

सोमबार काठमाडौंमा युएनडिपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१÷२०२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन्। उनले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताइन्।

मन्त्री भुसालले कृषि, पर्यटन र ऊर्जाबाट नै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने भन्दै देश विकासका लागि जलस्रोत लगायतका प्राकृतिक स्रोतको उचित प्रयोग गर्नु आवश्यक रहेको बताइन्।

उनले औद्योगीकरण, यातायात सञ्चालन, सिंचाई, कृषि विकास, खानेपानीको विकासमा विद्युतीय सामग्रीको प्रयोग गरेर उज्यालो भविष्य निर्माण गर्न सक्नुपर्ने बताइन्। मन्त्री भुसालले ऊर्जाको आन्तरिक खपत बढाउनका साथै खपत नहुने ऊर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी रहेको पनि बताइन्।

मन्त्री भुसालले भनिन्, ‘गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन आवश्यक छ। त्यसका लागि देशको अर्थतन्त्र सबल हुनुपर्छ। सबल अर्थतन्त्रको निर्माणका लागि नेपालको प्रमुख आधार भनेको कृषि, पर्यटन र ऊर्जा हो।’

मन्त्री भुसालले यो आर्थिक वर्षको अन्त्यसम्म करिब १६ अर्बको विद्युत व्यापार हुने प्रक्षेपण गरेको बताइन्। उनले यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको र हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३५१ युनिट रहेकोमा आगामी दिनमा उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको बताइन्।

नेपाल युएनडिपीको प्रतिवेदनअनुसार १९३ वटा देशमध्ये मानव विकास वर्गीकरणको १४३ औं स्थानमा छ। नेपाल मध्यम मानव विकासको अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ। 

TOP