‘ओलीको खेदो खनेर एमालेकै जस पाउने काममा दाबी!’
काठमाडौं : नेकपा (एकीकृत) समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार पार्टी कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शीतालगायतका विषय समेटिएको छ।
अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नेकपा एमाले नेतृत्वको सरकारले गरेका प्रगतिलाई समाजवादीले आफ्नो घोषणापत्रमा समेटेको छ।
२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नौ महिने सरकारको ‘आफ्नो गाउँ, आफैं बनाऔँ’ कार्यक्रमलाई घोषणापत्रमा सफलताको रुपमा प्रस्तुत गरिएको छ। समाजवादीले यसलाई नेपालको स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ल्याउने युगान्तकारी कदम भनेको छ।
तत्कालीन एमाले नेतृत्वको सरकारले वृद्धभत्ता, एकल महिला र अपाङ्गता भएका व्यक्तिका लागि भत्तालगायत सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम, ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’, भूमिहीन सुकुम्बासीलाई जग्गाको लालपूर्जा वितरण सुकुम्बासीलाई पहिलो पटक जमिनको मालिक बनाउने, करिब साठी हजार किसानलाई जग्गाधनी लालपूर्जा वितरणलाई एकीकृत समाजवादीले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।
साथै यसअघि एमाले अध्यक्ष ओलीले भन्दै आएको ‘नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन’लाई चुनावी एजेण्डामा समेटेको छ। घोषणापत्रमा भनिएको छ, ‘भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका लागि पहल गरिने छ।’
ओलीमाथि आक्रोश
नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखेको छ। ५६ पृष्ठ लामो घोषणापत्रको सुरुवातमा एकीकृत समाजवादीले आफ्नै पूर्व सहकर्मी एवं अध्यक्ष ओलीको चर्को आलोचना गरेको हो। २०७८ भदौमा माधवकुमार नेपालकाे नेतृत्वमा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएकाे थियाे।
२०७४ सालको निर्वाचनमा झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा निर्माण भएको सङ्घीय सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि ओलीलाई सुधार्न धेरै प्रयास गरेपनि असफल भएपछि आफूहरुले नयाँ दल दर्ता गरेको एकीकृत समाजवादीले उल्लेख गरेको छ।
‘एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली समेत विकास भयो, जसको कारण कम्युनिष्ट पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ठुलो क्षति भयो। हामीले नेकपा (एमाले)मा व्याप्त अवसरवाद, गैरकम्युनिष्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास गर्यौं। एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्यौँ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्यौँ,’ घोषणापत्रमा भनिएको छ।
एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनमा नयाँ पुनर्जागरण ल्याउन चाहेको बताएको छ। घोषणापत्रमा जालझेल, षड्यन्त्र, झुठा आश्वासन र तिकडमका आधारमा गरिने पार्टी एकता वा नेतृत्व कब्जाबाट कम्युनिष्ट आन्दोलनको पुनर्गठन हुन नसक्ने उल्लेख छ।
‘यही बुझेर नै हामीले बुलन्दीका साथ विद्रोहको झन्डा उठाएका हौँ। तत्कालिन नेकपा (एमाले) बाट गरिएको हाम्रो विद्रोह देशको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको दलदलबाट जोगाउनका लागि थियो। नेकपा (एमाले) को नेतृत्वमा देखापरेको विचारहिनता, चरम दक्षिणपन्थी विचलन, व्यक्तिवाद, अहङ्कारवाद, गुटवाद, नेतृत्वतहबाटै संस्थागत र नीतिगत भ्रष्टाचारका साथै भ्रष्टाचारीहरूको संरक्षण र निरङ्कुश कार्यशैलीका विरुद्ध विद्रोह गरी हामीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेपछि वैधानिक राजनीतिक दलका रूपमा नेपाली जनताका अगाडि उपस्थित भएका छौँ,’ घोषणापत्रमा भनिएको छ।
नेकपा एकीकत समाजवादीले नेकपा एमालेले गरेका कामलाई आफ्नो पार्टीले गरेको कामसँग तुलना गर्दै घोषणापत्रमा प्रस्तुत गरेको छ।
यस्ता छन् एकीकृत समाजवादीले आफैंले भूमिका निर्वाह गरेको दाबी गरेका कामः
१. गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका,
२. शान्ति स्थापनामा प्रमुख भूमिका,
३. तत्कालीन ‘अनमिन’लाई बिदा गर्ने काम,
४. पुष्पलाल लोक मार्गको सुरुवात,
५. काठमाडौं–निजगढ द्रुत मार्गको सुरुवात,
६. स्थानीय तहमा महिला र उत्पिडीत–दलित समुदायको उपस्थिति बढाउने
७. माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको सुरुवात,
८. कलङ्की नौबिसे सुरुङ मार्गको योजना,
९. जनता आवास कार्यक्रम,
१०. विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा,
११. अन्तर्जातीय विवाहलाई प्रोत्साहन,
१२. एकल महिलाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम,
१३. महिलामाथि हुने हिंसा नियन्त्रण गर्न प्रहरीमा महिला सेलको स्थापना,
१४. अपाङ्गता भएका व्यक्ति लगायतलाई सामाजिक सुरक्षा कार्यक्रम,
१५. सुत्केरी भत्ताको व्यवस्था।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam