समाज बुझेर न्याय  दिन सके कोही मर्कामा पर्दैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्।

सोमबार काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरूपण सही हुने बताए। उनले समाज नबुझीकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सीमित हुने उल्लेख गरे।

डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पादनमा पनि सहयोग पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

उनले भने, ‘न्याय सम्पादन गर्ने कुरामा पनि यो कितावले हामीलाई मद्दत गर्छ। हाम्रो सामाजिक परिवेश कस्तो छ भनेर हेर्नका लागि बुहारीहरुको मुद्दा आउँदा पीडित हुनुभएका छोरीहरुको मुद्दा हेर्दा हामीले कम्तीमा हाम्रो समाज यस्तो छ है भनेर समाजलाई बुझेर समाजको ऐना हेरेर, हामीले न्याय निरुपण गर्‍यौँ भने न्याय ठिक ठाउँमा पर्छ। होइन भने समाज नबुझिकन न्याय गर्दा त्यो कानूनको अक्षरमा मात्रै सिमित हुनपुग्छ। न्याय प्रदान राम्रो नहुन सक्छ। न्याय प्राप्त गर्ने अवस्था नहुनसक्छ।’

त्यस्तै, समाजसेवी अनुराधा कोइरालाले महिलाहरु एक ठाउँमा उभिएर चुनौतीहरुको सामना गर्ने हो भने अहिले भइरहेको समस्याहरु कम गर्न सकिने बताइन्। उनले अहिलेको समाजमा समेत छोराछोरीमा विभेद हुने गरेको भन्दै छोराछोरीमाथि हुने विभेदलाई समाजबाट हटाउन जरुरी रहेको बताइन्।

TOP