माओवादीको प्रतिबद्धतापत्र : घुस र भनसुन रोकिने, सत्ता र शक्तिमा बसेकाको सम्पत्ति खोजिने

काठमाडौं : नेकपा माओवादी केन्द्रले सर्वासधारणले सामान्य कामका लागि पनि घुस खुवाउनुपर्ने र भनसुन गर्नुपर्ने परिपाटीको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

सोमबार आसन्न निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो। 

‘संविधान, कानुन र नियमअनुसार सहज रूपमा हुनुपर्ने जनसाधारणका कामहरूमा घुस दिनुपर्ने वा भनसुन गर्नुपर्ने आवश्यकताको अन्त्य गर्न प्रभावकारी कदम चालिने छ।’ प्रतिबद्धतापत्रमा लेखिएको छ ।

माओवादी केन्द्रले २०४७ को परिवर्तनयता सत्ता र शक्तिमा बसेका सबैको सम्पत्ति विवरण छानबिन गर्ने पनि उल्लेख गरेको छ। 

‘०४७ को परिवर्तन यताका सबै सरकारका प्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख एवम् सदस्यहरू, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारीहरू र विशिष्ट श्रेणीका कर्मचारीहरूको सम्पत्ति छनविन गर्न एक उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरिने छ।’ 

प्रतिबद्धतापत्रमा लेखिएको छ, ‘त्यसैगरी, हाम्रो पार्टीले सबै केन्द्रीय समितिका सदस्यहरू एवम् प्रदेश समितिका पदाधिकारीहरूको सम्पत्ति विवरण निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र सार्वजनिक गर्नेछ । साथै प्रत्येक आर्थिक वर्षको पहिलो ३ महिनाभित्रमा केन्द्रीय समितिका सदस्यहरू र प्रदेश पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने छ ।’

भ्रष्टाचारको व्यापकता तथा सुशासनको अभाव, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा देखिएको समस्या र चरम व्यापार घाटा अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजानका लागि ठोस नीति र कार्ययोजना बनाई कडाइपूर्वक कार्यान्वयन गरिने माओवादीले उल्लेख गरेको छ।

TOP