कञ्चनपुरका मुक्त कमैयाको व्यावसायिक तरकारी खेती

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ नौखरी मुक्त कमैंया बस्तीकी समनमती चौधरीको दिनचर्या फेरिएको छ। परिवारको खर्च जुटाउन उनले साँझ बिहान नै मजदुरीमा जानु पर्थ्यो। मजदुरीबाट आएको पैसाले परिवारको जेनतेन खर्च चल्थ्यो।

अहिले उनी तरकारी खेतीमा लागेकी छिन्। व्यावसायिक तरकारी खेती गरेर सात जनाको परिवारको खर्च सहज रूपमा चल्न थालेको छ। पुनः स्थापना हुँदा पाएको पाँच कठ्ठा जग्गामध्ये एक कठ्ठा जग्गामा उनले घर निर्माण गरेकी छिन्।

बाँकी चार कठ्ठा र पाँच कठ्ठा जग्गा भाडामा लिएर उनले तरकारी खेती गर्दै आएकी छिन्। तरकारी खेतीबाट चौधरीले वर्षमा तीन लाख रुपैयाँआम्दानी गर्छिन्।
‘पहिला विहानै मजदुरीमा जान्थ्यौँ’ उनले भनिन्, ‘अहिले बिहानैदेखि तरकारी बाली स्याहार्ने र बजारमा बेच्नका लागि जाने गरेका छौँ।’ उनले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएको उनले बताइन्।

हाल उनको बारीमा काउली, गोलभेँडा, बन्दागोभी, खुर्सानी र हरियो सागपात बेच्नका लागि तयारी अवस्थमा छ। केही तरकारी उनले बजारमा लगेर बिक्री गरिसकेकी छिन्। ‘२० हजार जतिको काउली र गोलभेँडा बिक्री गरेका छौँ’, उनले भनिन् ‘अरु तरकारी बिक्री गर्ने अवस्थामा पुगेको छ।’

घरमा रहेका महिलाहरुले मात्रै तरकारी खेतीमा संलग्न छन्। पुरुषहरू बाह्य क्षेत्रमा रोजगारी गर्दै आएका छन्। घर खर्चसँगै बालबालिकको पढाइ खर्च तरकारी खेतीको कमाइले धानेको छ। घरका पुरुषले कमाएको पैसाले चौधरी परिवारले पक्की घर निर्माण गरेका छन्।

सनमती जस्तै बस्तीका रामस्वरुप चौधरीले पनि चार कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीबाट चौधरीले वर्षमा एक लाखदेखि एक लाख २० हजार रुपैयाँ आम्दानी गर्छन्।

मुक्त कमैया बस्तीका छ परिवारले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन्। ‘पहिले तरकारी खेती गर्ने धेरै थिए’ मुक्त कमैया अगुवा भागिराम चौधरीले भने, ‘कोरोना संक्रमणका वेला बन्दाबन्दीका कारण बजारमा तरकारी बिक्री हुनै छाडेपछि तरकारी खेती गर्नेको संख्यामा कमी आएको छ, तरकारी बिक्री नभएपछि धेरैले जीविका चलाउन अरु विकल्प रोजे। त्यसैले तरकारी खेती गर्ने घटे।’

‘तर बजारमा बिक्री हुन निकै समस्या छ’, उनले भने, ‘बाहिरबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागत मूल्य भन्दा थोरै बढीमा बिक्री हुन्छ। बेमौसमी तरकारीबाट भने चाहे अनुसारको मूल्य मिल्ने गरेको छ।’

महिलाले झिसमिसेमै टाउकोमा टोकरी बोकेर बजार क्षेत्रका पसल घर चहार्दै तरकारी बेच्नका लागि पुग्नुपर्ने बाध्यता रहेको छ। केही गैरसरकारी संस्थाले तरकारी खेती गर्ने तौरतरिका सिकाउने कार्यसँगै बीउबिजनमा सहयोग गरेका छन्। व्यावसायिक तरकारी खेती गर्ने किसानलाई नगरपालिकाले कृषि औजार, बीउबिजन र तालिम दिने कार्यमा सघाउ पुर्‍याएको छ।

‘गाउँमै तरकारी संकलन केन्द्र भए थोकमा व्यापारीलाई तरकारी उपलब्ध गराउँदा मूल्य मिल्न सक्थ्यौँ’ आरती चौधरीले भनिन्, ‘त्यसका लागि स्थानीय तहले व्यवस्था मिलाइदिनु पर्‍यो। वडाध्यक्षलाई यसबारे अवगत गराएका छौँ, बनाउने आश्वासन दिएका छन्।’

TOP