रामचन्द्रजी राष्ट्रपति बन्ने निश्चित भइसक्यो, नेम्वाङको पक्षमा कोही पनि छैनन्ः प्रकाश ज्वाला


काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भईसकेको दावी गरेका छन्।

प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरूको साझा उम्मेदवारको रूपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित् भईसकेको तर्क समेत गरे।

शनिबार अपरान्ह राष्ट्रपतिमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपतिको निर्वाचनसँगै आठ दल एकतावद्ध भएको उल्लेख गर्दै नेकपा एमाले भने एक्लिएको बताए। उनले आठ दलहरूबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने बताए।

‘आठ दलले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने, समर्थन गर्ने निष्कर्ष हामीले हिजो निकाल्यौं। त्यसै अनुसार आज उम्मेदवारी दर्ता भएको छ। त्यो निर्वाचनमा नेपाली का‌ग्रेसको उम्मेदवारले जित्ने पनि निश्चित छ। दोस्रो कुरा, भोलीका दिनमा पनि नयाँ ढंगले सरकारको निर्माणको कुरा होला,’ उनले भने, ‘राष्ट्रलाई कसरी अघि बढाउने भन्ने कुरा होला। सत्ता साझेदारीका कुरा होला। यी तमाम कुराहरूमा छलफल गरेर, सरसल्लाह गरेर एकता गरेर अघि बढ्ने संकल्प गरिएको छ। त्यसै अनुसार हामी अगाडि बढ्छौं। ओलीले जे भन्नु हुुन्छ, त्यो उल्टो नै भन्नु हुन्छ। नभत्किएको भए त आजैको यो सिनारियोले देखाई पनि सक्यो। किनकी आज उहाँ एक्लै हुुनुहुन्छ। उहाँको उम्मेदवार (सुवास नेम्वाङ)को पक्षमा अरू दलहरू कोही पनि छैनन्।’

प्रमुख सचेतक ज्वालाले राजनीतिक दलहरू जतिधेरै एकतावद्ध भयो, उति मुलुकमा राजनीतिक स्थिरता आउने भएकाले पनि आफूहरू नयाँ शीराबाट अघि बढ्न थालेको बताए।

TOP