विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने अभियान


म्याग्दी : मालिका गाउँपालिका ७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ। बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले शिक्षालयले यो अभियान थालेको हो।

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन्।

‘कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनुका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपज उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरेका छौँ’, शिक्षालयका प्रमुख करन कँडेलले भने ‘हाम्रो आफ्नै कृषि फर्म पनि छ। त्यहाँ तरकारी र फलफूल खेती, च्याउखेती,माछापालन आदि गरेका छौँ। व्यावहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउने गरेका हौँ।’

कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षा मात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन्। विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कँडेलले बताए। ​​

यो शिक्षालयका विद्यार्थीले पढाइ सँगसँगै आम्दानी पनि गर्दै आएका छन्। विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ।

विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुन्छन्। बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले राख्ने गरेको छ।

‘हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौं’, शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले भने, ‘विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौँ। किनभने फेरि अर्को पटक पनि लगानी गर्नुपर्ने हुन्छ।’

विद्यार्थीको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ। उनीहरुले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउँछन्। परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुशी छन्।

‘घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ। खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन’, तिलकुमारी रिजालले भनिन्, ‘उही निर्वाहमुखी खेती भइरहेको थियो। एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिकेअनुसार खेती गर्न थालेका छौँ। उत्पादन पनि बढेको छ। धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौँ।’

विद्यार्थी गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुशी छन्। प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ। ‘मेरो सानैदेखि कृषि रुचिको विषय हो’, आईएसई एजी प्रथम वर्षमा पढ्ने विशाल रिजालले भने, ‘सानैदेखि घरमा बुवाआमासँगै खेतबारीमा जाने उहाँहरूलाई सघाउने गर्थे। सहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै सस्तोमा पढ्न पाएकामा खुशी छु।’

‘टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर हामीले आफ्नै होस्टेल निर्माण गर्‍यौँ’, शिक्षालयका संयोजक कँडेलले भने, ‘चमेनागृह पनि सञ्चालनमा ल्याएका छौँ। होस्टेलमा बस्ने विद्यार्थीले आफ्नो खर्चमा मेसमा खान्छन् बस्नका लागि कुनै शुल्क लाग्दैन।’

व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान,पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ। ​बिमको कृषि प्राविधिक शिक्षालयमा अध्ययन सकेका ६० भन्दा बढी युवायुवतीले रोजगारी पाउनुका साथै व्यक्तिगत रूपमा कृषि फार्म सञ्चालन गरेर आम्दानी गर्दै आएका शिक्षालयका प्रमुख कँडेलले बताए।

बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो। अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको कँडेलले बताए।

TOP