ऋण गरेर निजी विद्यालयमा छोराछोरी पढाउने स्थिति अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे


काठमाडौं : सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार्न आवश्यक रहेको बताएका छन्।​

मंगलवार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले शिक्षालाई राज्यले प्राथमिकता दिए पनि लगानीअनुसारको नतिजा आउन नसकेको स्पष्ट पारे।

उनले सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानी सदुपयोग हुन नसकेको बताए। घिमिरेले सरकारले गरेको लगानीको प्रतिफल आएन भन्ने विषयमा छलफल हुन जरुरी रहेको बताए।

उनले निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्नुको कारण पत्ता लगाई यथोचित सम्बोधन गर्नुपर्ने बताए।

उनले देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तर उकास्न विद्यार्थीलाई सुलभ शिक्षा दिन जरुरी रहेको बताए।

उनले गुणस्तरीय शिक्षा पाउने भन्दै ऋण लिएर गरिबले पनि निजी विद्यालयमा विद्यार्थी पढ्न पठाउने स्थिति अन्त्य गर्न जरुरी रहेको बताए।

उनले भने, ‘परिवर्तित सन्दर्भमा शिक्षालाई कसरी लैजाने भन्नेबारे शिक्षा ऐन आउन बाँकी छ। आज हामी सामुदायिक विद्यालयलाई सुधार गर्छौं, बलियो बनाउँछौँ भन्ने नाराका साथ यो सम्मेलन मनाइरहेका छौँ। सामुदायिक विद्यालयमा शिक्षाका लागि सरकारको ठूलो लगानी छ। निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ तर सामुदायिक विद्यालयमा किन विद्यार्थीको आकर्षण छैन, यसमा सरकारको भूमिका के हुनुपर्छ ? त्यसमा छलफल हुन जरुरी छ। देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तर माथि ल्याउन विद्यार्थीलाई सुलभ शिक्षा दिन जरुरी छ। गुणस्तरीय शिक्षा पाउने भन्दै ऋण गरेर गरिबले पनि निजी विद्यालयमा विद्यार्थी पढ्न पठाउने स्थिति अन्त्य कसरी हुन्छ ? त्यो सोच्न जरुरी छ।’

सभामुख घिमिरेले शिक्षा ऐन पूरा पारित गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताए।

TOP