प्रधानमन्त्रीलाई रास्वपाको प्रश्‍न : भ्रष्टाचारीसँग मिल्न खोज्‍नुभएको हो?


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा आफूले उठाएका विषयहरू हटाएकोमा आपत्ति जनाएका छन्।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले गठबन्धनले बिहीबार ल्याएको न्यूनतम साझा कार्यक्रममा रास्वपाका मागहरू हटाएकोमा आपत्ति जनाएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार हो भनेर उच्चारण गरे पनि रास्वपाको माग उक्त कार्यक्रमबाट हटाएकोमा आपत्ति जनाएका हुन्।

‘प्रधानमन्त्रीज्यूले यो राष्ट्रिय सहमतिको सरकार हो भनेर उच्चारण गरेको पाइयो। यसअघिका न्यूनतम साझा कार्यक्रम किन हटाइयो। हटाउने अवस्था किन आयो? बलात्कारसम्बन्धी मुद्दाको द्रुत छिनोफानो गर्नका लागि सर्त राखेका थियौँ। त्यो अहिले किन स्वीकार्य भएन? भ्रष्टाचारमा अख्तियार जोडिएका विषयको छानविन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने भनेर अस्ती स्वीकार्य भएको कुरा आज किन अस्वीकार्य भयो?,’

सांसद झाले भने, ‘किन भ्रष्टाचारीसँगको सम्बन्ध जोडियो? श्रमिकको पारिश्रमिकको कुरा किन परिवर्तन गरियो। सबै नागरिकलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण अस्ति अटिएको कुरा अहिले किन अट्दैन? किन व्यवहारहरू परिवर्तन हुँदैछ? राजनीतिक दलको बाचापत्रमा अटेका कुराहरु अहिले कि अट्दैन? यहाँ कुनै हामीप्रतिको व्यवहार सोच र राजनीतिक अस्वीतत्वको सोच परिवर्तन हुँदैछ भने हामी स्पष्टता चाहान्छौँ।’

उनले सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अवसर दिने सुनिश्चितताका लागि आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गर्ने, टाइम कार्डको व्यवस्था गर्ने, गुणस्तरीय शिक्षा ऐन तथा विश्वविद्यलय ऐन र पहुँचयोग्य सेवाका लागि स्वास्थ्य ऐन लगायतका विषयहरु हटाएकोमा ध्यानाकर्षण गराएका छन्।

TOP