काठमाडौं महानगरमा कर्मचारीको मनपरी : अर्कै वडामा ११ बजे हाजिर भएर गायब
काठमाडौं : काठमाडौं महानगरले हिजाे (बिहीबार) यो वर्षको १४ औं नगर कार्यपालिका अन्तिम बैठक राख्यो। बैठकमा छलफलका लागि विविधसहित १३ वटा एजेन्डा थिए।
उक्त बैठकमा आव ०७९/८० को विकास अवस्था र आव ०८०/८१ का योजनाबारे छलफल, प्रस्ताव र पारित भएका थिए। उक्त बैठकमा वडाध्यक्षहरूले विकास क्रमलाई मात्र नभइ यो वर्ष भएका महानगरको विकृति विसंगतिबारे पनि सार्वजनिक गरे।
काठमाडौं महानगरपालिकाले एउटा मूल्यांकन समिति गठन गर्नै ६ महिना लगाएको भन्दै महानगरपालिका वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले आक्रोश पोखे। उनले योजनाहरू टेन्डर गर्दै मनोमानी ढंगले तोड्दै आएको बताए। उनका अनुसार गत माघमा मूल्यांकन समिति गठन भएको छ।
उनले भने, ‘पहिला यो वर्ष हेर्न चाहन्छु, कात्तिकमा टेण्डर भयो, मर्मतमा पुसमा खोलियो, त्यसको मूल्यांकनको ३ दिनअगाडि मात्रै क्यान्सिल भएको छ, यसरी अब कसरी महानगरपालिका चल्छ? टेन्डर तोड्ने भए १०/१५ दिनमै गर्नुपर्छ नि, टेन्डर गर्दै क्यान्सिल गर्नुहुन्छ?’
यही कारण सधैँ वडा अध्यक्षले गाली खानुपरेको उनको गुनासो छ। महानगरपालिकाको गल्तिले टोलटोलमा अझै सडक हिलाम्मे भएको बताए। ‘योजनामात्र बनाएर भएन नि। बजेट राखेको छ, महानगरमा २५ अर्बको बजेट छ भन्छ,टोलटोलमा जाँदा सडक हिलाम्मे छ, जनतालाई कसरी जवाफ दिउँ? मूल्याकंन समितिलाई भन्यो भर्खरै आएको भन्छ, काम नभएसी त्यो बजेटको के अर्थ? अब यसलाई मेयरले गम्भीर भएर हेर्नुपर्छ,’ उनले भने।
नीतिगत योजना बनाउँदै चाङ लगाउने र गाली भने वडा अध्यक्षले खानु परेको उनले बताए। ‘अघिल्लो वर्ष पनि यस्तै भयो, यसवर्ष पनि महानगरबाट काम हुन सकेको छैन। मूल्यांकन समिति ६ महिनामा गठन गर्ने अनि ६ महिनामा के काम हुन्छ? समग्रमा यसपालि १० प्रतिशत पनि बजेट खर्च हुने स्थिति देखिएको छैन, अनि गाली जति वडा अध्यक्षलाई खुवाउनुहुन्छ, कति गाली खाने?,’ उनले भने।
नीतिगत योजनाको चाङ लगाउने र गाली वडा अध्यक्षहरूले खाने दिन आगामी वर्षमा अन्त्य होस् भन्दै उनले आग्रह गरे।
स्थायी इन्जिनियर र तालिम दिने समय मिलाउन माग
महानगरपालिका वडा ८ का अध्यक्ष आशामान संगतले स्थायी इन्जिनियर नहुँदा समस्या भएको भन्दै स्थायी इन्जिनियर व्यवस्था गर्न माग गरे। अहिले भएका इन्जिनियरको कामबारे केही जानकारी नै पाउन नसकिएको उनको भनाइ छ।
‘काठमाडौं महानगरपालिकाको कति वटा वडामा इन्जिनियर छन्? मेरो वडामा ३ जना इन्जिनियर छन्, ११ बजेपछि आउने, मेरो वडामा उहाँको हाजिर हुँदैन, उहाँको ९ नम्बर वडामा हाजिर गरेर आउनुपर्छ भन्नुहुन्छ उहाँ, अनि फिल्डमा जाने भन्नुहुन्छ, कहाँ? को को जानुहुन्छ? कति बेला थाहा छैन, त्यसैले एक जना इन्जिनियर स्थाई रूपमा वडामा दिन माग गर्छु,’ उनले महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलअगाडि भने।
काठमाडौं महानगरका कर्मचारीहरू हाजिरी गर्दै टाप कस्ने प्रवृत्ति अहिले मात्रै भने होइन। यसअघि पनि भएका हुन्। बेला बेला महानगरपालिकाले छड्के अनुगमन गर्दा कतिपय कर्मचारी हाजिर गरेर टाप कस्ने पाइएको थियो।
महानगरपालिका वडा ८ का अध्यक्ष संगतले तालिमका कारण पनि सेवा प्रवाहमा समस्या भएको बताए।
उनले भने, ‘अहिले तालिमको सिजन चलेको जस्तो लागेको छ, कर्मचारीको वृद्धि विकासको लागि तालिम भन्दै चलेको छ। हाम्रो वडासचिवज्यू बिहान ७ बजेदेखि १ बजेसम्म तालिममा हुनुहुन्छ, अनि वडा कसले चलाउने? १ बजेसम्म सचिवले गर्नुपर्ने काम कसले गर्ने? अनि गाली जति हामीले खानुपर्ने?’
तालिमको समय नमिल्दा वडाको स्वास्थ्य क्लिनिक नै बन्द गर्ने अवस्थामा आएको उनले बताए। ‘स्वास्थ्य विभाग छ, स्वास्थ्यको क्लिनिक छ, क्लिनिकमा हेर्ने जो-जो व्यक्ति हुनुहुन्छ, जो-जो काम गर्नुहुन्छ, वडामा दुवै जना हुनुहुन्छ, दुवै जनालाई एकै समयमा भनेर तालिममा पठाएपछि त्यो अफिस बन्द गर्ने कि कार्यालय सहयोगीले चलाउने? तालिममा पठाउँदा यस्तो कुरामा याद गर्नु परेन?, ’उनले प्रश्न गरे।
उनले समय मिलाएरमात्र अबदेखि यस्ता तालिमहरू सञ्चालन गर्न माग गरे। ‘उहाँहरूलाई पालैपालो तालिम गराउँदा हुन्थ्यो होला नि, त्यसैले यो चाहीं विदाको दिनहरूमा मिलाएर गर्नुपर्ने कि अफिस समयभन्दा फरक समयमा गर्ने हो, अब समय मिलाउनु पर्याे,’ उनले भने।
उनले ठाउँ अभावका कारण पनि समस्या भएको बताए। उनले भने, ‘वडाको अवस्था, कोठाबारे पनि बुझ्न पर्याे,’ उनले भने, ‘राष्ट्रिय परिपत्र आएको अवस्था छ, मेरो वडा सदस्यहरूलाई बस्ने कुर्सी छैन, ठाउँ छैन।’
छापियो कमसल ब्लक
महानगरपालिकाका वडा–३० का अध्यक्ष दलबहादुर कार्कीले विकास निर्माणमा कमसल सामग्री प्रयोग हुन थालेको भन्दै अनुगमन गर्न माग गरे।
‘ढल बनाउँदा, ब्लक बनाउँदा प्राविधिक जनशक्ति चाहिन्छ तर ठेकेदार मात्रै हुन्छ, ब्लक छाप्दा फुटिसकेको देखिन्छ, महानगरले एउटै गल्लीमा ५० चोटी काम गर्ने? कार्यकाल सुरू भएको बेला गरेको काम कार्यकालमै भताभुंग भएको हेर्नुपर्ने? यो कस्तो किसिमको विकास गर्दै छौँ,’ उनले भने।
महानगरपालिकाका मेयर शाह आफैँ इन्जिनियर भएकाले निर्माण सामग्री र कामबारे अनुगमन गर्न उनले आग्रह गरे।
‘मैले इन्जिनियर माग गरेको थिएँ, प्राविधिक जनशक्ति, डाक्टर पठाउँछु भनेर भन्नु भयो,’ उनले भने, ‘तर किन अहिलेसम्म कर्मचारी आएनन् कारण थाहा छैन, पहिला हप्तामा एक दिन इन्जिनियरहरू आउँथे, पछि हराए।’ उनले अहिले इन्जिनियरहरूको हाजिर भएको देखिने तर काम भने नदेखिएको उनको भनाइ छ।
यसो भन्छन् महानगरपालिका प्रमुख शाह
प्रश्नपछि जवाफमा काठमाडौं महानगरपालिकाका प्रमुख शाहले अब टेन्डर प्रकृया सहज हुने आश्वासन दिए। उनले भने, ‘पहिला एउटा भएको मूल्यांकन समिति अहिले ११ वटा भएको छ, टेन्डर ४२ ठाउँबाटै हुन्छ। अब सहज हुन्छ, अब आर्थिक वर्षमा त्यस्तो हुँदैन।’
उनले अब केन्द्रले नगरे वडाले नै डिपिआर, टेन्डर गर्न सक्ने बताए। महानगरपालिका आफैँले ऐन कानुन बनाउन नपाउँदा कतिपय नीतिगत कामहरू समयमा नभएको उनले जानकारी दिए। ‘प्रायः महानगरपालिकाले आफ्नै ऐन बनाउन पाउँदैन, प्रदेश सरकारको ऐनले गर्दा केही समस्या आयो,’ उनले भने।
उनले अहिलेसम्म वडाहरूमा २२ जना इन्जिनियर आइसकेको जानकारी दिए। आव ०८०/८१ को योजना साउन महिनामै खरिद प्रक्रियामा लैजाने तयारी गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरे।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam