राजसंस्था पुनःस्थापनाको मुद्दा संसद भित्र दह्रो ढंगले उठाउँछौंः उपाध्यक्ष प्रधान

९ बैशाख, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रबबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसद भित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन्।

एक कार्यक्रममा सहभागी हुन शनिबार नवलपरासी पुगेका उपाध्यक्ष प्रधानले राजा संस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दु धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागिपर्ने जिकीर गरेका हुन् ।

उनले सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दु धर्मलाई राप्रपाले मुख्य एजेन्डा बनायो भनेर चिन्ता नगर्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे।

पूर्वकानुनमन्त्री समेत रहेका प्रधानले राप्रपाले जनताको पक्षमा कुनै एजेन्डा नबोकेको भनेर भ्रम छर्न खोजिएको भन्दै आपत्ति समेत जनाए। भ्रष्टाचार नियन्त्रण गर्न, कानुन निर्माण गर्न, जनतालाई नागरिकता दिनका लागि नागरिकता विधेयक ल्याउने कुरामा पनि राप्रपाले सरकारमा रहँदा धेरै काम गरेको भए पनि त्यसलाई ओझेलमा पार्ने प्रयास भइरहेको उनले गुनासो गरे।

‘सदनमा हिन्दु राष्ट्र स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितेर गएका प्रतिनिधिसभाका सांसदहरूले उठाइरहेकै छन । तर, हामीले राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको एजेन्डा मात्रै राप्रपाको एजेन्डा भनेर जनतामा भ्रम फैल्याउने गरिएको छ । ती नेपालका आत्मा हुन। हामीले धार्मिक पहिचानसहितको हिन्दु राष्ट्र भनेर भनेका हौं भने राजसंस्था नरहे नेपाल रहँदैन भन्ने कुरो पनि हामीले सोचेका हौं,’ उनले भने, ‘त्यसकारण राजसंस्था रहनुको पछाडि राप्रपाले एडभोकेसी गरिरहनुको अर्थ हो–राजा भनेको हाम्रो होइन, सारा नेपालीलाई प्रतिनिधित्व गरेको हुन्छ। र, राजा नेपालमा रहिराख्दासम्म, चाहे त्यो क्रियाशील रहून÷नरहून। राजा रहेसम्म नेपाल रहिरहन्छ भन्ने मान्यतालाई राखेर जनताका अन्य आवश्यकताका पक्षहरू हाम्रा एजेन्डामा सरिक गरेका छौं । अहिले जनताको सर्भिसहरू डेलिभरी भइराखेका छैनन् । जनताको इच्छा, आकांक्षाहरूलाई, उनीहरूका समस्याहरूलाई परिपूर्ति गर्नका लागि हामी सरकारमा रहँदाखेरी उठाएका मुद्दाहरू समेतलाई नियोजित ढंगले ढिला गर्ने र त्यसलाई प्रस्तुत नगर्ने प्रयासहरू भइराखेको छ ।’

उपाध्यक्ष प्रधानले दुई वटा संसदीय समितिको नेतृत्वमा आफ्नो पार्टीको दावी रहेको बताए। संसदीय समितिमा हैसियत अनुसार सहभागी हुने उल्लेख गर्दै उनले त्यसमा पार्टीको तर्फबाट सदस्यमा सहभागिता रहने कुरा सुनिश्चित भइसकेको पनि बताए । उपाध्यक्ष प्रधानले संसदीय समितिमा सबैले साथ दिए नेतृत्व पनि लिने, नभए समितिको सदस्यको रूपमा रहेर आफूहरूले काम गर्ने स्पष्ट पारे।

उनले संसदीय समितिमा सदस्यको रूपमा रहने कुरा सुनिश्चित भएकाले नेतृत्वका लागि मरिहत्ते गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताए।

TOP