प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न सकिएन : उपेन्द्र

२५ भदौ, विराटनगर : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र संस्थागत गर्न प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न नसकिएको बताएका छन्।

समाजवादी मोर्चाले आज विराटनगरमा आयोजनामा गरेको सन्देश सभामा बोल्दै यादवले गणतन्त्र संस्थागत गर्न प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न नसकिएको र प्रदेश कमजोर अवस्थामा पुगेको बताएका हुन्।

गणतन्त्र संस्थागत गर्न समय झन् घर्किदै गएको समेत बताएका छन्। ‘निरंकुश पंचायती व्यवस्था फ्याँकेको ३४ वर्ष भयो। गणतन्त्र स्थापना गरेको १५ वर्ष भयो। नयाँ संविधान बनेको पनि लामो समय भयो। तर विगतको १६ वर्षमा १३ पटक केन्द्रमा सरकार बदलिए छन् तर प्राप्त भएको उपलब्धि संस्थागत हुन सकेनन्’ उनले भने।

सबै शक्ति सरकार बनाउने र टिकाउनेमा ध्यान जांदा संघीयता कार्यान्वयन गर्न नसकिएको बताउँदै प्रहरी, निजामती ऐन नबन्दा प्रदेश संस्थागत गर्न नसकिएको बताए। उनले भने, ‘समाजमा समान स्रोत साधनमाथिको पहुँच अभिवृद्धि हुन सकेको छैन। जनतामा आक्रोश बढ्दै गएको छ।’

सुशासन चाहेको भए पनि नेपालीले कुशासन मात्र पाइएको यादवले बताए। आर्थिक र राजनैतिक उपलब्धि संस्थागत हुन नसकेको भन्दै उनले विकास र समृद्धिको यात्रामा आम जनता सामेल हुन नपाएको जिकिर गरे।

आर्थिक खाडल र विभेद झन बढेको बताउँदै यादवले कृषि, शिक्षा क्षेत्र झन् उपेक्षित र चौपट भएको बताए।

TOP