स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
२३ असोज,काठमाडौं : गत वैशाख २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहनबहादुर बस्नेतले आफू आएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याएको दाबी गर्ने गरेका छन्।
वीर अस्पतालमा ७०० बेड नि:शुल्क गराएको मात्र होइन बिहान ८ बजेदेखि ओपीडी सेवा, विस्तारित इमरजेन्सी सेवा, नियमित शल्यक्रिया र आईसीयू सेवा विस्तार गरेको रट हरेक कार्यक्रममा लगाइरहन्छन्।
तर यिनै मन्त्रीको निर्देशनले गर्दा अहिले वीर अस्पतालको सेवा नै अस्तव्यस्त पुगेको छ। यसका कारण अस्पतालमा जाने हरेक बिरामीले दु:ख पाउने गरेका छन्।
कोभिडको समयदेखि वीर अस्पतालले नियमित रूपमा नै २३ वटा आईसीयू सञ्चालन गरिरहेको थियो। अस्पतालले सेवा विस्तार गरेर ५९ बेडको आईसीयू सञ्चालन गरिरहेको थियो।
यसमा लागि करारमा नर्स लगायतका २०० भन्दा बढी स्वास्थ्यकर्मी थपिएका थिए। यी जनशक्तिले गर्दा नै वीरको सेवा विस्तार भएको थियो। तर हाल आएर स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनले एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवा प्रभावित भएको छ।
मन्त्री बस्नेतले सरकारसँग बजेट नभएको भन्दै करारमा रहेका नर्सिङ सहितका जनशक्तिको सेवा नथप्न निर्देशन दिएर कामबाट निकालेपछि हाल अस्पतालको सेवा खुम्चिएको हो। अस्पताल निर्देशक डा. सन्तोष पौडेलका अनुसार तलब दिन सरकारसँग पैसा नभएको भन्दै मन्त्री बस्नेतले करार सेवाका कर्मचारीको अवधि नथप्न निर्देशन दिएका थिए।
निर्देशक पौडेलका अनुसार गत असोज १५ गते बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्को बैठकले करार अवधि नथप्ने निर्णय गरेको हो। यसले गर्दा हाल अस्पतालको ५९ बेडको आइसीयू सेवालाई घटाएर २३ बेडमा झारिएको छ। निर्देशक डा.पौडेलले भने ‘करारमा रहेका २२१ जना नर्सको करार नथप्ने निर्णय गर्दा चलिरहेको आईसीयू सेवा साथै अन्य सेवा पनि घटाउनु पर्ने बाध्यता आएको छ।’
यति मात्रै होइन स्वास्थ्य मन्त्री बस्नेतकै पहलमा दुई महिना अघि वीरको ९०० मध्ये ७०० बेड नि:शुल्क गरिएको थियो तर अहिले एकै पटक नर्स सहित २७६ स्वास्थ्यकर्मीको करार नथपी निकाले पछि यो सेवा पनि खुम्चिन पुगेको छ।
वीरबाट अहिले निकालिएका करारका जनशक्ति कोभिड– १९ का वेला सेवा प्रवेश गर्नेहरू हुन्। कोभिड मत्थर हुँदै जाँदा सञ्चालनमा आएको सर्जिकल भवनतर्फ सिफ्ट गरिएको थियो। सर्जिकल भवनका लागि ८३१ जनाको दरबन्दी थियो । सो दरबन्दीमा मन्त्रालयको स्वीकृति लिएर करार सेवामा उनीहरूलाई निरन्तरता दिइएको थियो। यही नयाँ सर्जिकल भवन बाट अस्पतालले विशिष्टिकृत सेवा विस्तार गर्दै लगेको थियो।
वीर अस्पताल सबैभन्दा बढी न्यूरो सर्जरी हुने ठाउँ हो। जसमा न्यूरोको सर्जिकलमा एउटा टिममा १४ जना नर्स थिए। तर हाल आएर ६ जनाले नर्सले करार नथपिए पछि सेवा दिन छाडेका छन्, जसले गर्दा अस्पतालको विशिष्टिकृत सेवानै प्रभावित भएको निर्देशक डा.पौडेलले बताए। पुरानो भवनमा ९ वटा अप्रेसन थियटरबाट सेवा सञ्चालन भइरहेको थियो। अहिले नयाँ भवनपछि १५ वटा अप्रेसन थियटर सञ्चालनमा आएको थियो।
कोरोना महामारीको समयमा वीर अस्पतालको सर्जिकल भवन सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ८३१ जना चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीको पुल दरबन्दी सृजना गरिएको थियो । सोही अनुसार करारमा स्वास्थ्यकर्मी राखेर अस्पतालले सेवा दिएको थियो। त्यसअनुसार ५०० बेड थपेर ९०० पुर्याइएको थियो भने अप्रेसन थियटरलाई आठबाट १५ वटा, आईसीयू ३० बाट ५९ बेड पुर्याइएको थियो ।
अस्पतालको दरबन्दीभित्रै रहेका ती स्वास्थ्यकर्मीलाई अपर्झट निकालेसँगै वीर अस्पतालमा सेवा एकाएक खुम्चिन पुगेको हो। यसले गर्दा विशेष गरी आईसीयू र आकस्मिक कक्ष तथा विभिन्न प्रकारका अप्रेसन सेवामा प्रभाव पारेको निर्देशक डा. पौडेलले बताए।
८३१ मध्ये लोकसेवाबाट २४६ नर्स र केही विशेषज्ञ चिकित्सक पुगे पनि ५६६ नर्समा २४६ बाहेक अरु पोस्ट खाली छ।
लोकसेवा बाटै वीरमा खाली दरबन्दीमा कर्मचारी राख्ने योजना रहेको भए पनि एक्कासी सेवा दिइरहेका धेरै स्वास्थ्यकर्मीलाई निकाल्ने निर्णय गर्न स्वास्थ्य मन्त्रीले नै निर्देशन दिनु गल्ती भएको बताउँछन्, एक उच्च अधिकारी। ‘ वीरजस्तो धेरै बिरामीको चाप हुने अस्पतालमा सेवा दिइरहेका धेरै स्वास्थ्यकर्मीलाई एकैपटक निकाल्ने निर्णय गलत हो। यसले सरकारी स्वास्थ्य सेवामा नकारात्मक प्रभाव पार्छ।’
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam