व्यापारिक मलमा आर्थिक मन्दीको असर

काठमाडौं : कोरोना महामारी र रुस–युक्रेन युद्धबाट सिर्जित आर्थिक मन्दीका कारण व्यापारिक मलमा लगानी असुरक्षित बनेको छ।

कोशी प्रदेशको राजधानी विराटनगरमा पछिल्ला पाँच वर्षमा ठूलो लगानीमा सञ्चालनमा आएका केही व्यापारिक मल बन्द भएका छन्। हालैमात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा सञ्चालित आरके सिटी सेन्टर बन्द भएको छ।

२०७६ साल फागुनमा एक अर्ब २५ करोड रुपैयाँ लगानीमा खुलेको उक्त मल सोमबारबाट पूर्ण रूपमा बन्द भएको हो। विश्वव्यापी आर्थिक मन्दी, असमान मूल्य र खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता भारतीय बजारमा आकर्षित हुँदा मल बन्द भएको हो।

विश्वव्यापी आर्थिक मन्दी र सरकारको नीतिका कारण मलहरू बन्दको अवस्थामा पुगेको विराटनगरस्थित सेन्ट्रल मलका सञ्चालक प्रकाश मुन्दडा बताउँछन्।

उनले आर्थिक मन्दीका कारण उद्योगधन्दा धराशायी भइरहेको बताए। उनले देशमा आर्थिक अवस्था गम्भीर रहेको बुझ्न सकिने बताए।

यसअघि विराटनगरको पहिलो डिर्पाटमेण्ट स्टोर नेपाल बजार बन्द भएको थियो। नेपाल बजार अर्कै ठाउँबाट पुनः सञ्चालन गर्ने भनेर २०७६ साल जेठमा बन्द गरिएको थियो। तर अहिलेसम्म नेपाल बजार खुल्न सकेको छैन। २०७५ को नयाँ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी र सोही वर्षको फागुनबाट सञ्चालनमा आएको सेन्ट्रल बजार गरी अहिले विराटनगरमा दुई व्यापारिक मल सञ्चालनमा छन्। तर ती मलमा पनि पहिलेको तुलनामा उपभोक्ताको संख्या घटेको छ।

विराटनगरस्थित भाटभटेनीका म्यानेजर पर्शुराम तिम्सिनाले शुरुवातको समयमा आउने ग्राहकको तुलनामा अहिले सरदर १० प्रतिशतको गिरावट आएको बताए।

कस्टमरहरु सपिङ मलमा गएर किन्नुपर्छ भन्ने धारणा नरहेका कारण पनि मलमा उपभोक्ता घटेको बताए। बोर्डरमा केही टाइट गर्ने हो भने नेपालकै मलमा उपभोक्ताहरु जाने दाबी गरे।

आर्थिक मन्दीले गर्दा आम्दानी घटेपछि सर्वसाधारणको क्रयशक्तिमा पनि गिरावट आएको छ। जसले गर्दा उपभोक्ता सस्तो खोज्दै सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन्। विराटनगरमा भन्दा भारतमा सामानहरु सस्तो पर्ने भएकाले भारतबाटै सामानहरु किनेर ल्याउने गरेको बताए।

कोरोना महामारीपछि आर्थिक गतिविधि चलायमान हुन नसक्दा सर्वसाधारणको आम्दानी घटेको र उनीहरू सुलभ मूल्यको पछि लागेका कारण मलहरू बन्द हुने अवस्थामा पुगेको अर्थविद् वेदराज आचार्यले बताए।

उनले मानिसहरुसँग आम्दानी कम र किन्ने क्षमतामा कमी भएकाले मलहरुमा केही समस्या आइरहेको बताए। मानिसहरुले गुमाएको रोजगारी नपाउनु, आर्थिक अवस्था चलायमान नहुनु र लगानी गर्नेकुरामा नै उद्योगी र व्यवसायीहरु हच्किनुले पनि समस्या आएको बताए।

नेपालमा राजनीतिमा पनि देश विकासमा भन्दा सत्ता टिकाउने प्रवृत्तिले निरन्तरता पाउँदा राम्रो वातावरण सिर्जना हुन नसकेको बताए।

मलहरू धमाधम बन्द भइरहेको अवस्थामा विराटनगरमै अर्को मल सञ्चालनको तरखरमा छ। तीन अर्ब हाराहारीको लगानीमा सञ्चालनमा आउन आँटेको सेन्चुरियन मल निर्माणाधीन अवस्थामा छ।

TOP