सकियो दुईवटा फल्चाको पुनःनिर्माण


काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा ८ का दुईवटा फल्चाको पुनःनिर्माण सकिएको छ। नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चा पुनःनिर्माण भएपछि आज सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडाध्यक्ष आशामान संगतले फल्चाहरूको उद्घाटन गरे।

यी फल्चामध्येकोे ‘ग्वलः दे फल्चा’ वि. सं. १९९० सालको भूकम्पपछि हराएको थियो। वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरूत्थान गरिएको हो।

शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ। यसअनुसार फल्चा करिब ३२४ पुरानो हो। स्थानीय पाका मानिसहरूका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो। पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो। त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ।

फल्चा पुनरूत्थानका लागि वडाले करिब १४ लाख ७६ हजार रूपैयाँ खर्च गरेको वडाध्यक्ष संगतले जानकारी दिए। उनका अनुसार १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ। २५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९ औँ शताब्दीमा बनाइएको अभिलेख छ।

ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यसको नाम नरसिंह रहेको हो। यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ। संयोजक संगतले रावण पाटी पुनःनिर्माणको काम पनि शुरू भइसकेको बताए।

TOP