निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमिकता : कार्यवाहक प्रधानमन्त्री सिंह


काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहेको स्पष्ट पारेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलका क्रममा उनले निर्माण व्यवसायीहरूका समस्यालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन्। उनले सरकारले निर्माण व्यवसायीहरूको हितमा गरेका काम आउने दिनमा पुष्टि हुने उल्लेख गरे। कार्यवाहक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले भोग्नुपरेका नीतिगत, ऐन, कानून र नियमावलीका अप्ठ्यारा चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले वर्तमान सरकार निर्माण व्यवसायीहरूका जायज माग समाधान गर्ने पक्षमा रहेको बताए। उनले जतिसक्दो चाँडो समस्या समाधान गर्न पहल भइरहेको बताए। उनले निर्माण व्यवसायीहरूको निर्माणका लागि भुक्तानी सहज होस् भन्ने चाहना सरकारले चाँडै नीतिगत र ऐन संशोधन गरेर पूरा गर्ने प्रतिबद्धता जनाए।

सिंहले भने ‘निर्माण व्यवसायीहरूका जायज माग सरकारले समाधान गर्नेछ। जतिसक्दो चाँडो समस्या समाधान गर्न विशेष ध्यान दिएर काम गरिरहेका छौं। आगामी दिनमा आउने परिणामबाट व्यवसायीहरूले थाहा पाउनु हुनेछ। निर्माण व्यवसायीहरूको निर्माण काम गर्न र भुक्तानी सहज रूपमा होस् भन्ने चाहना सरकारले चाँडै नीतिगत र ऐन संशोधन गर्छौं।’

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले निर्माणको भुक्तानी व्यवसायीलाई भन्दा बढी पेचिलो सरकारलाई भएकाले दशैँअघि नै भुक्तानी दिने अर्थ मन्त्रालयको तयारी रहेको बताए। उनले अर्थमन्त्रालयको दशैँअघि भुक्तानी सक्ने तयारीअनुरूप शहरी विकास अन्तर्गतका आयोजनाको विवरण दिएको पनि बताए।

उनले शहरी विकास मन्त्रालय अन्तर्गतको गत आर्थिक वर्षको भुक्तानी दिनुपर्ने ५६ करोड भुक्तानीको स्रोत समेत पहिचान गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको उल्लेख गरे।

उनले मन्त्रालयले भुक्तानी गर्नुपर्ने आयोजना थोरै रहेको बताए। उनले नेपाल सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी दिन नसकेका कारण निर्माणको काम रोकिएको अवस्था आए १४ औं पटक नियमावली संशोधन गर्न मन्त्रालय तयार रहेको बताए।

TOP