प्रकृतिले नै गर्यो काठमाडौंमा ‘नाका बन्द’ कहाँ कति क्षति?
काठमाडौं : बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी १०१ जना घाइते भएका छन्।
बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए।
कुन प्रदेशमा कति क्षति?
लगातारको वर्षाले सबैभन्दा धेरै काठमाडौं उपत्यकामा क्षति गरेको छ। काठमाडौं ललितपुर भक्तपुरमा मात्र ३७ जनाले ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका छन्। २० जना अझै बेपत्ता हुँदा १ हजार ९ सय ८८ जनाको उद्दार गरिएको छ।
त्यसैगरी, बागमती प्रदेशमा ४५ जनाको मृत्यु हुँदा ६८ जना घाइते भएका छन्। त्यस्तै ३८ जना बेपत्ता हुँदा १९ जनाको उद्दार गरिएको छ।
त्यस्तै कोशी प्रदेशमा १५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ८ जना अझै बेपत्ता छन्।
मधेश प्रदेशमा वर्षाको प्रभाव परेको छ मधेसमा ३ जनाको मृत्यु हुँदा ९ जना घाइते भएका छन्। त्यस्तै १ जना बेपत्ता भएका छन् भने ३५ जनाको उद्दार गरिएको छ। गण्डकीमा पनि वर्षाको आंशिक प्रभाव परेको छ। जसमा ९९७ जनालाई उद्धार गरिएको छ।
देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध
बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ।
सडक विभागले शनिबार दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन्।
प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन् भने काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए।
‘ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन्। विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण सङ्कलन गर्न पनि सकिएको छैन। यो प्रारम्भिक विवरण मात्रै हो’, अर्यालले भने, ‘पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ। अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज र बिपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगाएको छ।’
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताए। बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ।
काठमाडौं उपत्यका छिर्ने सबै नाका बन्द
अहिले काठमाडौं उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिए। धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए।
सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ। सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौं खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो। त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ। धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो।
अरनिको राजमार्गअन्तर्गत काठमाडौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ। उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए।
अन्य राजमार्गहरूको कस्तो छ अवस्था?
कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डअन्तर्गत गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पनि पहिरो खसेको छ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ।
पुष्पलाल (मध्यपहाडि राजमार्ग) अन्तर्गत ओखलढुङ्गाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारीसाधन सञ्चालनमा अवरोध सिर्जना भएको छ भने भेडेटार–रबि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ।
सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ।
भेरी करिडोरअन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडकखण्डमा पश्चिम रुकुमको त्रिवेणी भन्ने स्थानमा सडकमा पहिरो खसेको छ। यो सडकखण्डअन्तर्गत जाजरकोट जिल्लाको नमूना बस्ती क्षेत्रमा पनि बाढी र पहिरोका कारण समस्या देखिएको विभागले जनाएको छ।
मेची राजमार्गअन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम–गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला खण्डमा पाँचथरको फिदिम नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको छ। त्यस्तै माडर–चौराहवा–गोलबजार–सिरहा–साँघुरे–उदयपुर–मिचैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा सल्लेरी सडकखण्ड प्रभावित बनेको छ। मिर्चैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडकमा पनि सवारीसाधन सञ्चालन हुने सकेका छैनन्।
सहिद मार्गअन्तर्गत कोइलाबास–लमही–अर्जुनखोला–घोराही–घर्तिगाउँ–थवाङ–लुकुम खण्ड, रोल्पाको घर्तीगाउँ र दुई खोली खण्डको गरगरे भन्ने ठाउँमा पहिरो गएको छ। यो राजमार्गमा रोल्पाको होलेरी र दारबोट खण्डमा पनि अवरोध सिर्जना भएको छ। अर्घाखाँचीको लौलिहवा–गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत नरपानी–खुम्ती–सन्धिखर्कमा पहिरो गएको सडक विभागले जनाएको छ।
त्यसैगरी, पुष्पलाल राजमार्गअन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी, सिन्धुलीको रिठ्ठाबोट, फिक्कल, ट्याँउ खोला र कुखुरेटार, हर्जेनी, बलेनी, सालघारीलगायत क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ।
तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्टानमा सडक पूर्ण रुपमा अवरुद्ध छ। डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको छ।
कान्ती राजपथअन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैँसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ। यो राजमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो।
ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार खण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ। दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, किर्तीपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेका छ। गोदावरी नगरपालिका–६ को लेले टिकाभैरव जाने बाटोमा पहिरो खसेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam