स्पेनमा आवास संकटविरुद्ध आमहड्ताल, मड्रिड र बार्सिलोनामा व्यापक प्रदर्शन

काठमाडौंः स्पेनको राजधानी मड्रिडमा भारी वर्षाका बाबजुद बुधबार साँझ करिब एक लाख २० हजार मानिस प्रदर्शनमा उत्रिएका छन्। ‘तलब, आवास र मूल्य’ भन्ने नारासहित श्रमिकहरूले गरेको आमहड्तालमा देशभर प्रदर्शन भएको छ।

आवास अभाव र चर्को भाडाविरुद्ध बढ्दो आक्रोशका कारण प्रदर्शनमा ठूलो सहभागिता देखिएको हो। बार्सिलोनामा पनि करिब ५५ हजार मानिस साँझको ¥यालीमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले ‘बाँचौँ, केवल जीवित मात्र नरहौँ’ भन्ने ब्यानर बोकेका थिए। अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेपनि बार्सिलोनामा केही युवा समूहले मुख्य व्यापारिक सडकका पसलका सिसा फुटाउनुका साथै फोहोरका डब्बामा आगो लगाएका थिए। उनीहरूले प्रहरीमाथि पटाका पनि प्रहार गरेका थिए।

प्रतिकूल मौसम र आँधीबेहरीका बाबजुद बुधबार बिहानैदेखि देशका विभिन्न भागमा श्रमिकहरूले प्रदर्शन गरेका थिए। यस वर्षको सुरुमै मड्रिडमा ८७ वर्षीया म्यारीकार्मेन आबास्काललाई घरबाट निष्कासन गरिएपछि उनको निधन भएको घटनालाई आवास संकटको प्रतीकका रूपमा लिइएको छ। यही संकटको पृष्ठभूमिमा नोभेम्बर २९ का लागि मध्यावधि निर्वाचन घोषणा गरिएको छ।

वामपन्थी प्रधानमन्त्री पेड्रो साञ्चेजको सरकारले भाडामा बस्नेहरूको समस्या सम्बोधन गर्न आवाससम्बन्धी कानुन ल्याउन खोजे पनि विपक्षी दलहरूले सदनमा त्यसलाई रोकेका थिए। आवश्यक बहुमत जुटाउन नसकेपछि थप राजनीतिक समर्थन प्राप्त गर्ने उद्देश्यले साञ्चेजले मध्यावधि निर्वाचन आह्वान गरेका हुन्। यद्यपि, सरकारले संसद्बाट अस्वीकृत सुधारका उपायसँग मिल्दाजुल्दा दुईवटा विशेष अध्यादेश पारित गरेको छ।

मड्रिड टेनेन्ट्स युनियनकी प्रवक्ता आलिसिया डेल रियोले भनिन्, ‘घरहरू सीमित घरधनीको फाइदाका लागि नभई मानिसहरू बस्नका लागि हुन् भन्ने सुनिश्चित गर्दै देशको आवास प्रणालीमा पूर्ण परिवर्तन नआएसम्म हामी रोकिने छैनौँ।’ मड्रिडको मेर्कामाड्रिड थोक बजारअगाडि प्रदर्शनकारीमाथि प्रहरीले मरिचको धूलो (पेपर स्प्रे) प्रयोग गरेको थियो। घटनामा कम्तीमा १३ जनालाई उपचार आवश्यक परेको बताइएको छ। विमानस्थल र एयरलाइन्सका कर्मचारीसमेत हड्तालमा सहभागी भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

स्पेनको केन्द्रीय बैंकका अनुसार देशमा हाल करिब सात लाख ५० हजार घरको अभाव छ। यो संख्या सन् २०२८ सम्ममा १० लाखभन्दा बढी पुग्नसक्ने अनुमान छ।

घर किन्न कठिन हुँदै गएपछि भाडामा बस्नेहरूको संख्या बढिरहेको छ। स्पेनको युवा परिषद्का अनुसार औसत मासिक भाडा करिब एक हजार ३१५ अमेरिकी डलर पुगेको छ, जुन एक औसत युवाको मासिक कुल आम्दानीको करिब ९९ प्रतिशत हो।

यसैवर्ष भएका दुई ठूला घातक रेल दुर्घटनाको विरोधमा रेल कर्मचारीहरूले हड्ताल सुरु गरेको भोलिपल्ट यो आमहड्ताल भएको हो। जीर्ण रेल पूर्वाधार पनि आगामी संसदीय निर्वाचनको प्रमुख मुद्दा बनेको छ।

स्पेन सरकारले बुधबारको हड्ताललाई समर्थन गर्दै यो कसैको विरोधमा नभई ‘अधिकारको पक्षमा’ भएको जनाएको छ। प्रधानमन्त्री साञ्चेजनिकट स्रोतहरूले भने यसलाई विपक्षी दलहरूविरुद्धको आन्दोलनका रूपमा व्याख्या गरेका छन्। विपक्षी कन्जर्भेटिभ पिपुल्स पार्टी (पीपी)का नेता अल्बर्टो नुनेज फिजोले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।

 

TOP